काठमाडौं := अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गर्नुभएको छ । बिहीबार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । डिजिटल नेटवर्किङमार्फत् देशको पुँजी पलायन भइरहेकाले यस्तो गैरकानुनी गतिविधि नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न पनि मन्त्री शर्माले आग्रह गर्नुभयो ।
उहाँले प्राकृतिक साधनस्रोतमा स्थानीय जनताको स्वामित्व कायम गरी सामुदायिक पुँजी निर्माण गर्ने कार्यक्रम बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो । अर्थमन्त्री शर्माले कर्णाली प्रदेशमा समाजवादको आधार तयार गर्न उत्पादन र रोजगार अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका हरेक कार्यकर्ताले अभावको जीवनबाट मुक्ति पाउन उत्पादन कार्यमा जोडिएर समृद्ध बन्ने र जनतालाई पनि समृद्ध बनाउने अभियानमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।




















