कथा : “वेलकम टु रेमिटल्याण्ड”

[ लेखक : जीवन देवान ‘गाँउले’ ] 

कथा ! समाजको चरित्र मात्रै हैन, ब्यक्तीको कल्पना पनि हो । अर्थात, कल्पना गर्ने छुट छ ।

# # # #

रेमिट्यान्स(विप्रेषण) नेपाली अर्थतन्त्रमा विदेशी मुद्रा प्राप्तीको महत्वपूर्ण स्रोतको रुपमा रहेको छ । यो नेपाली अर्थतन्त्रका लागि अक्सिजनसरह भएको छ । नेपाली जीवनस्तर सर्वेक्षणको तथ्यांक अनुसार सन् १९९६ मा २३ प्रतिशत, सन् २००४ मा ३२ प्रतिशत र सन् २०११ मा ५६ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गरेको देखिन्छ । आर्थिक बर्ष २०७३–७४ मा कुल गृहस्थ्य उत्पादनको करिव २६ प्रतिशत अनुपातमा नेपाल भित्रिएको रेमिट्यान्स नेपालीहरुको आयात भुक्तानीको स्रोत समेत बनेको छ ।
–डा.डम्बरु बल्लभ पौडेल, अन्नपूर्ण १८ साउन २०७५

नेपाल रेमिट्यान्समा सबैभन्दा निर्भर मुलुक बनेको छ । विश्व वैकको रिपोर्ट अनुसार नेपालको जीडीपीमा रेमिट्यान्सको योगदान ३१ द्यशमलव ३ प्रतिशत छ । सन् २०१६ मा नेपालको जीडीपीको आकार २१ दशमलव एकखर्व थियो । त्यसमध्ये एकतिहाई हिस्सा रेमिट्यान्सको छ ।
–रविन्द्र घिमिरे, अनलाईनखवर १९माघ २०७४

नेपाल राष्ट्रवैकबाट हालै गरिएको एक अध्यायन अनुसार नेपालका ८० दशमलव ८ प्रतिशत घरपरिवारको रेमिट्यान्स वाहेक आयको अन्य स्रोतबाट खर्च धान्न नपुग्ने र १८ दशमलव ८ प्रतिशत घरपरिवारले उपभोग्य खर्चको लागि रेमिट्यान्स आयमा पूर्णरुपमा भर पर्नु पर्ने देखिएको छ ।
–रुपनारायण खतिवडा, नेपाल समाचार पत्र १८फाल्गुन २०७४

उल्लेखित रेफरेन्सकै आधारमा मात्रै रेमिटल्याण्डको कल्पना गर्नु उपयुक्त नहोला । तर, चारित्रिकताले परिकल्पना गर्न त सकिन्छ नि !
तेसोर, रेमिटल्याण्ड एक परिकल्पना मात्तै बुझ्नु ।

# # # #

जहाज भित्र पस्न पाउदा नै प्रफुलित भै सकेको थिए । सिटमा बसिसके पछि भने ढुक्कको आँखा चिम्लिए । बन्द आखाँभित्र विश्वास र भरोसामा अल्झिएर हिडेको अध्यारो बाटो यात्रा गरेको दृश्यहरु प्रदार्पण हुन थाल्छ ः–
दृश्य १
विशेष सम्पर्क सुत्र मार्फत उ सँग भेट भएको छ । सम्पर्क सुत्रले बताए अनुसार ईलिगल नेपाल पठाउनेहरु मध्येमा उ भरपर्दो मान्छे हो । उसले पठाएको मान्छेहरु केएलआईए एयरपोर्ट ईम्रिगेशनमा अड्किएको अहिलेसम्म रेकर्ड छैन ।
‘कम्पाउण्ड तिरेर जाने कि सेटिङमा ?’ –उसले सोध्यो । मैले बुझे –नेपाल फर्किने बाटो दुईवटा रहेछ । मलाई लागत जान्नु थियो । सोधे – कम्पाउण्ड तिरेर जाँदा कति ? सेटिङमा कति ?
‘तेसले केहि भनेन ?’ –विशेष सम्पर्क सुत्र तर्फ उसले संकेत गर्याे ।
अँह –मैले टाउको हल्लाए ।
उसले कतै फोन लगायो । केहि अपुष्ट कुरा गर्यो । तेसपछि फोन काटेर प्याकेज रेट बतायो,– कम्पाउण्ड तिरेर जाने भए तेईससय रिङ्गिट, सेटिङबाट हो भने पैतीससय । खाने बस्ने तेसभित्रै ।
‘उ सँग फोनमा बोल्ने मान्छे तेही सम्पर्क सुत्र त हैन ? हो भने उसको भाग पनि जोडिएको होला र यति महंगो होला !’ –तेसरी अपुष्टगरी बोल्नुले मलाई शंकाको सुविधा मिलेको छ । कतैबाट सुनेको छु – मलेसियामा विना फाईदा कसले पो सहयोग गर्छ र ?
‘पैतिससय !’ तर्सिएर जिव्रो निकालेको उसले देखेछ । भन्यो,– ‘कम्पाउण्ड तिरेर जानु नि त !’ भन्दै गर्दा त्रास पनि देखाईदिन भ्यायो –तर ब्यालकलिष्टमा पर्छौ, पाँच बर्ष मलेसिया आउन मिल्दैन ।
मलाई हरेक सम्भावनाहरुको ढोका खुल्ला राख्नु थियो । किनभने, म मात्र घर फर्किन चाहन्थे तर देश मै केहि गर्छु भन्ने न योजना थियो न ब्यालेन्स नै ।
‘फेरि आउन मिल्छ भने त सेटिङ मै जानु पर्ला !’ मैले घटाई मागे,– अलि मिलाउन मिल्दैन ?
अन्ततः कुरा मिल्यो । तेतिससय तिरेर सेटिङमा फर्किने भए ।

दृश्य २
‘यो भाईले आजबाट खाना खान्छ है ।’ रेष्टुरेन्टको मालिकलाई मेरो अनुहार चिनाई दिदै उसले सचेत गरायो,– दारुपानी खायौ भने चै आफ्नै पैसाले खाने नि !’
मैले टाउको हल्लाई दिए । यसो गर्नु उसो गर्नु भन्दै उ अगिअगि हिडिरहेको छ । म हुन्छ हुन्छ भन्दै पछिपछि पछ्याई रहेको छु ।
पासपोर्टको फोटो कपि चाहिन्छ – छ ?
–छ ।
नागरिकताको फोटो कपि चाहिन्छ – छ ?
–छ ।
फोटो २ प्रति चाहिन्छ – छ ?
–खिच्नु पर्छ ।
अहिले नै खिच्नु पर्छ । भोली त डकुमेन्ट बनाउने हो ।
फोटो खिच्ने ठाउमा पु¥यायो । खिचियो । ४ प्रति निकालियो । यो पैसा चै प्याकेजमा नपर्ने रहेछ । मैले तिरे ।
‘कागजपत्र पुरा भयो ।’ – उ बोल्यो ।
पैसा त पहिला नै दिई सकेको थिए । कागज पत्र पनि दिनलाई उसको हातमा थमाई दिए,– डकुमेन्ट तपाईले बनाउनु हुने होला नि ?
‘डकुमेन्ट त तिमी आफैले बनाउने हो । अर्काको डकुमेन्ट एम्वेसीले दिदैन ।’ कागजपत्र मेरै हातमा थमाई दियो । अनि मैले दिएकै पैसाको बुङबाट आरएम१६० निकालेर दिदै भन्यो,– हिड एम्बेसी देखाई राख्छु ।
‘सबै काम त म आफैले गर्नु पर्ने हो कि क्या हो ?’ मनमा आउछ । मेरो मनमा जे कुरा खेलिरहेको छ सो बुझेजसरी उ भन्छ –मैले गर्ने भनेको टिकेटिङ र सेटिङ हो ।
उसले एम्बेसी देखाई दियो । डकुमेन्ट प्रोसेसको लागि केही तरिका सिकाई दियो । अनि मैले वास बस्नु पर्ने ठाउँमा पुर्याई राखेर गयो ।
जाँदा फोन नम्बर दिएर गयो । सँगसँगै मेरो भरोसा पनि उ सँगै लिएर गयो ।

दृश्य ३
झण्टहेर्दा सेल्टर जस्तो लाग्ने हल, ढोकानिरै केहिथान जुत्ता–चप्पलहरुको थुप्रो, विछ्यौनाको नाममा ३/४ वटा म्याड्स, झोलाको सिरानी लगाएर लडेका ५/६ जना केटाहरु ….. देख्दै अत्यासलाग्दो ठाउँमा छाडिराखेर उसले भनेको थियो,– नउडुन्जेल यहि नै आरामसँगले बस्ने हो है ।
‘यो कुनै आरामसँगले बस्ने वातावरण हो ? तेत्रो पैसा तिरेर यस्तो ठाउँमा बस्दिन ।’ भन्नु पनि नसकि सोधेको छु – कति दिन लाग्छ ?
उसको भनाई अनुसार मैले ३ देखि ५ दिन यस ठाउँमा गुजार्नु पर्ने छ ।
बस्ने ठाउँको हालत देखेर उसैपनि म अत्यासिएको छु, त्यहिमाथि पहिला देखि नै बसिरहेका केटाहरु अत्यास थपिदिन्छन । उनिहरुको कुराले निसासिन्छु । आफ्नो हातबाट फुत्किसकेको पैसा सम्झिदा त झन घाँटि मै अठ्याए जस्तो हुन्छु ।
‘केटाहरुको कुरा धेरै नसुन्नु, भएको नभएको कुरा लगाउछन ।’ –यस्तो बेला पनि म उसले भनेको कुरा सम्झिएर मन बुझाउछु ।
लज भनौ लज पनि हैन । सेल्टर होम भनौ सेल्टर होम पनि हैन । कुरो बुझ्दा कलेक्सन सेन्टर रहेछ । उसले जस्तै अरुहरुले पनि घर फर्किने केटाहरु बटुलेर यहा राख्दा रहेछन । म जसरी यहा आईपुगे त्यसैगरि अन्य केटाहरु ल्याईएका रहेछन ।
आपतमा सरकारकाे अासलाग्दाे रहेछन । म पनि अासगर्छु –दुतवासको सेल्टर हाउस भएको भए !

दृश्य ४
उसले भनेबमोजिम नै एम्बेसीमा आईपुगेको छु । पालो पर्खिनेहरुसँगै लाईनमा उभिएको छु । म भन्दा अगाडिको लाईन छोटिदैछ, पछाडी थपिदैछ । थपिनेहरुबाट धकेलिदै काउण्टरमा खडा हुन पुग्छु ।
के नाम हो ? –मेरो कागजपत्र हातमा लिएर काउण्टरको कर्मचारी सोध्छ ।
‘त्यही छ त सर ’! भन्दिउ लाग्दालाग्दै पनि आफ्नो नाम भनिदिन्छु । हामी सेवाग्राही देशै देखि कर्मचारीको काम गर्ने शैलीसँग अभ्यासरत छौ भने विदेशमा त झन जोरी खोज्ने कुरै भएन । म हो हैन मै जवाफ दिन प्रयास गर्छु ।
ठेगाना ? –फेरी सोध्छ । त्यो पनि भनिदिन्छु ।
‘भेरीफाई गर्नु पर्छ नि भाई !’ भन्छ र सोध्छ – पासपोर्ट के भयो ?
–कम्पनीमा छाडेर भागेको ।
किन भागेको त ? कम्पनी छाडेपछि ईलिगल भईन्छ भन्ने थाहा थिएन ?
–‘थाहा हुदाहुदै भागेको । के गर्नु ! कम्पनी राम्रो थिएन । भनेको जति सेलरी नदिने । ओटी पनि नचल्ने । टाईममा सेलरी नपाईने । …..’ हतपत मेरो बोलीलाई रोक्दै भन्छ,–तिम्रो कहानी सुन्दै बसेर अरुको चै काम नगर्नु ? डकुमेन्टको १६० लाग्छ, विल काटेर आउनु ।
विल काटेर पुनः उनैलाई भेट्न पुग्छु । एकप्रति भौचर लिदै सोध्छ, –दलाललाई कति दिईयो ?
–‘आफै जान लागेको सर ।’ यसबेला मेरो बोली हैन, सिकाईएको बोली निस्कियो ।
‘था छ, यस्ता आफै जान्छौ भन्नेहरु पछि ठगियौ भन्दै आउछन ।’ भनेर ओठ लेब्राई दिन्छ ।
म जस्तो ढटुवा फुर्ती लगाउनेहरु कति ढाँटिदै पुनः अाईपुगेको होला ! ढाँटेको बोलीलाई किन विश्वास गर्थ्यो ।
हातपरे पछि कल गरेर उसलाई थाहा दिन्छु – ट्राभल डकुमेन्ट बनाएँ ।

दृश्य ५
केएलआईए एयारपोर्ट ल्याई पुर्याईएको छु । आफै पनि आईपुग्थे होला ! तर ढिपिकसेरै पुर्याई मागेको हुँ । उसले त भन्दै थियो,– ट्याक्सीमा पठाई दिन्छु । काउन्टर नम्बर फोनमा भन्छु ।
उसले भनेको मैले मानिन । किनभने, पाँचदिन भित्र उडाउने वचन उ आफैले गरेको थियो । तर, डकुमेन्ट बनाएको अर्को दिन देखि भोलीभोली भन्दै फ्लाईटको टुङ्गो गर्न दश दिन लगायो । समयसीमा भित्र नउडाए पछि उसको काम गराईमा शंका उब्जियो । त्यहिबेला कलेक्सन सेन्टरमा भएका केटाहरुले मन बिगारी दिन्थे ।
जस्तो ः–
–”भोली भोली भनेर झुलाएको दुई हप्ता भयो ।” –भन्थ्यो ।
–”दलालहरु पैसा नपाउन्जेल चिप्ला कुरा गर्छन, पैसा पाए पछि उल्टै थर्काउछन । त्यसपछि उदेरले भनेको मान्नु वाहेक अर्को विकल्प हुदैन ।”–अर्को थप्थ्यो ।
–”खतरा हुन्छ । सेटिङ भन्छन, एयरपोर्ट ईम्रिग्रेसनमा जाकिदिन्छन ।” –अर्कोले डर देखाउथ्यो ।
–”तिम्रो त फोन उठाउदैछ । आफ्नो एजेन्टको त दुईहप्ता सम्म फोन लाग्थ्यो । तेसपछि जति कल गर्दा पनि स्वीचअफ मात्रै भन्छ । भएको पैसा सकियो, अव के गरी फर्किने !” –पिडितको पीडा पनि सुनिन्छ ।
यही शंकाको ज्वालामा लपेटिएर एक पटक उसलाई ठुलो स्वर गर्नु पर्यो,– काम गर्नु नसक्ने भए पैसा फिर्ता दिनु ! पाँचदिन भित्र उडाउछु भनेको तपाई आफैले हो त ।
‘मेरो बोली देउताको बोली हो र ? मान्छेको बोली हो । एकदुईदिन यताउता त भै हाल्छ नि !’ –उसले स्वरको भोलुम उल्टो बटारेर मलाई शान्त गरायो ।
र, अर्को दिन टिकट बोकेर आयो ।

दृश्य ६
म ईम्रिगेसन काउन्टर सामुन्यको लाईनमा उभिएको छु । मैले जानु पर्ने काउन्टरमा पुगिने गरि आफूभन्दा अगाडीकाहरु मनमनै घटाउदै छु । मुटुको चाल बढेर छात्ति उछिटिउला गर्दैछ ।
‘यहा भन्दा उता मैले जान मिल्दैन ।’ भनेर उ रोकिए पछि हाम्रो साथ छुट्यो । कोही साथमा हुनु र नहुनुले पार्ने फरकलाई बोध गर्दै स्कलेटरमा आफूलाई उभ्याए । चलिरहेको स्कलेटरले मलाई एकताला मुनि झार्यो । अवको मुख्य खड्को म एक्लैले काट्नु थियो ।
भन्न त ‘तिमी ईम्रिगेसन नकटुन्जेल यतै हुन्छु’ भनेर उसले मलाई ढाडस दिएको थियो । तर उसकाे वचन ‘देउताको वोली हैन’ भनेर उसैले भनेको हुदा ससंकित छु । त्यहि भएर बेलाबेला उ बसेको ठाउँमा नजर घुमाउछु । उ बुढीऔला ठड्याउदै संकेत गर्छ – ढुक्क होउ, सेटिङ सबै ठिक छ ।
हुनपनि उसले भने झै हुन्छ । काउन्टरको अफिसरले मेरो डकुमेन्ट लिन्छ । कागजपत्र चेकजाँच गरे जस्तो गर्दै प्रकृया पुरा गराउछ । र, मलाई ढुक्क बनाउने एक्जिट छाप लगाई दिन्छ –ढ्याप्प ।
मेरो पावर देख्यौ ? –उसले सबै देखिरहेको रहेछ, कल गरेर मलाई धाक दिन्छ । म उसलाई दृश्यबाटै अलाप गराउछु ।

# # # #

आँखा उघारेपछि दृष्यहरु पटाक्षेप हुन्छन । र, प्लेन भित्रको वातावरणमा दृष्टी पर्न थाल्छ ।
म विचको सिटमा बसेको छु । झ्याल पट्टिको सिटमा र छेउ पट्टिको सिटमा पनि नेपाली नै छन । दुवैको गलामा खादा झुण्डिएको छ ।
के म उनीहरु भन्दा बेग्लै छु ! –सायद ।
म सोध्छु – तपाईहरुको गलामा खादा ?
छेउपट्टिको बोल्छ –उम, विशेष फ्लाईट हो नि त ।
‘विशेष !’ म अन्यौलमा पर्छु – यो फ्लाईट नेपाल जादैन र ?
‘जान्छ पनि, जादैन पनि ।’ –झ्यालपट्टिको बोल्छ ।
म झन दुविधामा पर्छु – अनि काँ जान्छ त ?
रेमिटल्याण्ड !
आकासवाणीसरी कताबाट आवाज आउछ र कानमा पर्छ । म जुरुक्क उठ्छु,– नेपाल जादैन ?
छेउपट्टिकोले एउटा हात, झ्यालपट्टि अर्को हात समाएर तल खिच्छ । सिटमा बसाउछ । किंकर्तव्यविमूढ बस्छु –म ।
मलाई बसाई राखेर छेउपट्टिको जुरुक्क उठ्छ अनि चारैतिर हात फिजाएर सुनाउछ,– यहा भएका सबै यात्रुहरु एउटै प्रकृयाबाट आईपुगेका हौँ । ई हेर हामी सबैको गलामा खादा छ । तिम्रोमा पनि छ ।
मेरोमा पनि छ सुनेर झन विलखवन्दमा पर्छु । झ्यालपट्टिकाले त्यहीबेला मौका छोप्छ,– तिमीलाई त एयरपोर्टमा विदाई गरिपठाको पनि याद छैन होला ?
‘विदाई ! कस्तो विदाई ? म त ईम्रिग्रेसन जस्तो शसक्त प्रसासनको आँखा छलेर प्लेनमा बस्न आईपुगेको हुँ । कि सेटिङवालाले हात हल्लाएर विदा गरिपठाकोलाई विदाई मान्नु ?’ –मलाई यत्ति त याद छ ।
‘उनीहरु कस्तो विदाईको कुरा गरिरहेका छन ?’ कुनै याद नरहेको संकेत दिए पछि झ्यालपट्टिकैले कोट्याई दिन थाल्छ,– यस फ्लाईटमा भएका हामी सबै सरकारले उपलब्ध गराएको फ्रि टिकटबाट स्वदेश फर्कदै गरेका यात्रु हौँ । यो सरकारको बार्षिक कार्यक्रम अन्तरगत पर्दछ । हामी यस बर्षका लागि मलेसियाको रोजगारीमा रहेका मध्येको फ्रि टिकट जित्ने भाग्यमानी हौँ । त्यसैले अघि एयरपोर्टमा दूतवासको प्रतिनिधीले खादा लगाई दिएर विदाई गरेको ।
–‘अहिलेको सरकारले स्वदेशमै रोजगारी श्रृजना गर्ने र वैदेशिक रोजगारको आकार्षणलाई निरुत्साहित गर्दै जाने नीति त लिएको छ । तर वैदेशिक रोजगारबाट भित्रिने रेमिट्यान्सले अर्थतन्त्रमा पुर्याएको योगदान, समाजमा पारेको प्रभाव आदीलाई पनि नकार्दैन । अर्थविदहरुका अनुसार कुलबजेटमा ६०प्रतिशत योगदान रेमिट्यान्सबाट हुन्छ । वैदेशिक रोजगारविज्ञहरुका अनुसार ८०प्रतिशत घरपरिवार रेमिट्यान्सबाट धानिन्छ । त्यहि भएर सरकारले वैदेशिक रोजगारमा रहेको आफ्ना नागरीकहरुलाई सम्बोधन गर्ने कार्यक्रमको थलानी गरेको छ । प्रारम्भिक चरणमा मध्यम आम्दानी हुने देशमा रहेकाहरुलाई लक्षित गरेको छ । यसमा सरकारको तर्क छ – वैदेशिक रोजगारीमा जाने कुल संख्याको वहुसंख्यक मध्यम र निम्न स्तरका नागरिकहरु नै ति देशहरुमा श्रम बेच्न जाने हुनाले सरकारको पहिलो प्राथमिकतामा परेका हुन ।’ छेउपट्टिको सरकारी बोली बोल्छ । फेरी थप्छ,– सरकारले यो कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन सम्बन्धित देशका दूतवाससंग समन्वय गर्छ । ति दूतवासले लक्षित वर्ग समुदयलाई समेट्ने गरीको योजना बनाउछ । मलेसियाको हकमा सरकारको आफ्नै एयरलाईन्सले सिधा उडान गर्ने भएकाले दूतवासले एयरलाईन्स संग सहकार्य गरेको छ । तेहिभएर बोर्डिङपास लिनेबेलामा अन्य एयरलाईन्सका यात्रुले झै हामीले लाईन उभिनु परेन । ति सबै प्रकृया एयारलाईन्सका कर्मचारी आफैले गरिदिए । ईम्रिगेसन क्लियरेन्स दूतवासले गरिदियो । हामी त सरासर प्लेनमा बस्न आईपुगेका हौँ ।
प्लेन आकासमा उडिरहेको छ । लाग्छ – प्लेन भित्र बसेको मलाई चै छेउपट्टिका र झ्यालपट्टिकाले हावामा उडाई रहेका छन ।
त्यहिबेला एयरहोष्टेज आईपुग्छे । कोईली स्वर गर्छे,– सरहरुलाई अरु केही ल्याई दिउ कि ?
एकसरो खाना ल्याईदिई सकेकी थिई । फेरी सोध्दैछे । मनमा आउछ –खाने, पिउने पनि थपिथपि पाईदो हो !
‘पाईन्छ नि सर । केही चाहिए माग्न सक्नु हुनेछ । हामी यहाहरुकै सेवाका लागि हौँ ।’ कोईली स्वर सुनिदै जान्छ,– यहाहरु घर–परिवार, गाउँघर, देश छाडेर वैदेशिक रोजगारमा जानु हुन्छ । विदेशी भूमिमा रगत पसिना बगाउनु हुन्छ । खाई नखाई पैसा कमाउनु हुन्छ । आफू पालिनु हुन्छ, परिवार पाल्नु हुन्छ । सतही देखिने यहि हो । तर,यहाहरुको योगदान त्यतिमात्रै हैन । यहाहरुले पठाउनु भएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठुलो भूमिका खेलेको छ । हामी कर्मचारी त नागरिकको करबाट पालित पोषित न हौँ । यहाहरुको सेवा गर्नु हाम्रो धर्म हो ।
यतिथोक बोल्दिसकेर जान्छे । जादाजादै जागिरे मुस्कान पनि छाडीदिन्छे ।
‘विजिनेस र ईकोनोमि –प्लेनमा क्लास हुन्छ । वर्ग र वर्ण –का यात्रुहरु हुन्छन । अन्त : गरिने सेवाभाव पनि फरक फरक हुने नै भयो नि !’ –मैले सुनेको यहि हो । तर, एयरहोष्टेजको भनाईमा म मख्ख पर्छु । हेरेको हेरेकै हुन्छु ।
‘सुनिहाल्यौ नि ! बुझ्नु – हामी सिर्फ श्रमिक मात्र हैनौ, देश धान्ने आर्थिक श्रोत पनि हौँ ।’ फेरी सुरु हुन्छ छेउपट्टिको,– लाखौको संख्यामा रहेको मलेसियामा सयौलाई मात्र छान्ने एउटा प्रकृया छ । त्यसका लागि दूतवासले आफ्नो अफिसियल वेभसाईड र फेसबुक पेजमा सार्वजानिक सुचना जारी गर्छ । अनलाईन आवेदन आह्वान गर्छ । छनौट गर्दा साँचो अर्थका करदाताहरुले मात्र अवसर पाउन भनेर रेमिटेन्स कम्पनीहरुबाट रेफरेन्स लिन्छ । रेमिटेन्स कम्पनीहरुको रेफरेन्स हुने हुदा वैधानिक तवरले पैसा पठाउनलाई प्रोत्साहन गर्छ भन्ने धारण राख्छ –दूतवास ।
‘छनौट एकदम पारदर्शी हुन्छ । भाईबन्धु केही हुदैन ।’ झ्यालपट्टिको फ्याट्ट बोल्छ । उसको काम बेलाबेला मेरो चेतमा घन ठोक्ने हो जसरी प्रस्तुत हुन्छ,– कि तिमीले चै भनसुन लगायौ ?
मैले के भनसुन लगाए र ? एजेन्ट लगाएको हुँ । एजेन्टले पनि के भनसुन गर्यो होला र ? दूतवास त म आफैलाई पठायो । फ्रि टिकटको कुरो ? प्याकेजमा पैसा जोडेकै थियो । अनि, ईम्रिग्रेसन क्लियरेन्स ? सम्झिदा नि मुटु फुलिन्छ । –उनीहरुले उडाएर जति माथि पुर्याए पनि मैले धरातल छाड्न सकिरहेकाे थिईन ।
प्लेन तल तल ओर्लिन्दै छ । उनीहरु भने मलाई माथि हावामा उडाई रहन चाहन्छ । प्लेनले जमिनको सतह भेटिसक्दा पनि म किंकर्तब्यविमुढ बसिरहेकै हुन्छु । आँखा चिम्म गरेर निक्र्यौल गर्न खोज्छु –आखिर उनीहरुले भनेको साँचो हो कि मैले भोगेको ?

# # # #

दृश्य – ७
वेलकम टु नेपाल लेखेको ढोकाबाट पसेर म त्रिभुुवन विमान स्थलको आगमन कक्षमा आईपुगेको छु । देश आईपुगेको खुशी र आफन्तलाई भेट्न हतारो हुनेहरुको हुलमा छु । हुलले संयमित हुने धैर्यता गुमाउछ । कोही आएर सम्झाउछ – लाईनमा बस्नुस ।
फरेनर लेखेको काउण्टरका हाकिमको परफरमेन्स नियाल्छु । ताजुव लागेर आउछ । यस्तो लाग्छ –‘अतिथि देवो भव !’ हामीमा जिवित छ ।
सम्भवत : म पनि त्यस्तै सत्कारको अपेक्षा गर्दै काउन्टर अगाडी उभिन्छु । ट्राभल डकुमेन्ट नामको (दूतवासको लेटरहेडमा आफ्नो सामान्य विवरण लेखिएकाे) एकपन्ना बुझाउछु । ट्राभल डकुमेन्टलाई टेवलमा राख्दै अफिसर मेरो अनुहार नियाल्छ । केर्छ –
काँ बाट आको ?
–मलेसिया ।
पासपोर्ट के भयो ?
–हरायो ।
विदेशमा पासपोर्ट हराउदा मान्छे नै हराईन्छ भन्ने थाहा छैन ?
–मौन स्वीकृति जनाउछु ।
कति भयो गएको ?
–५/६ बर्ष भयो ।
तेत्रो बर्षमा पैसा त टन्नै कमाईयो होला नि ?
मेराे हुलियामा ब्याङ्य कस्दै केरकार सक्छ । कागज(ट्राभल सकिए पछि डकुमेन्टको उपदेयता सकिने हुनाले)मा छाप लगाई दिन्छ ।
म फुकुवा चरा झै हुन्छु । मानौ : पिजडामुक्त भएको छु । सरासर बाहिरिन्छु । र, जिन्दगीले एउटा खड्को काटेको उन्मुक्त खुशी मातृभूमिको आकासमा हेरिपठाउछु ।

# # # #

आँखा उघार्छु । भेट्छु उनै दुईलाई । आफुलाई विचमै बसेको अवस्थामा पाउछु । प्लेन अवतरण भै सकेको छ, तैपनि उनीहरु मलाई हावामा उडाउन छाडेका छैनन् ।
छेउपट्टिको भन्दैछ,– वाहिर स्वागतको तयारी भै रहेको हुदा केहि समय आफ्नै सिटमा धैर्य गरि बसिदिनु भनेर को–पाईलटबाट सुचित भएको छ ।
‘कतिवेला सुचित भयो ? मलाई किन केही थाहा भै रहेको छैन ?’ –दिमाग रिङिन थाल्छ ।
‘श्रममन्त्री नै आउने कुरा थियो, अन्तिम समयमा आएर क्यान्सील भएछ । त्यसैले मन्त्रालयका उप–सचिवको टोलीले हाम्रो स्वागतको तयारी गरिरहेको छ रे ।’ –झ्यालपट्टिको भन्छ ।
एयरहोष्टेजले प्लेनको ढोका खुलेको संकेत गर्छ । हामी बढो अनुसासित हुदै बाहिरिन्छौ ।
उनीहरुले भने झै बाहिर स्वागतको भव्य तयारी भै रहेको देखिन्छ । र, देखिन्छ खादा, फूलको गुच्छा, प्लेकार्डहरु । मेरो नजर प्लेकार्डमा लेखिएको अक्षरमा पर्छ ।
लेखिएको पढ्छु –वेलकम टु रेमिटल्याण्ड ।

पुनश्च: कथा कथामात्रै पनि हैन । प्रयुक्त दृश्यहरु – देखिन्छन । अरु त एउटा अरपेले गर्न सक्नेसम्मको कल्पना हुन ।

हाल -क्वालालम्पुर, मलेसिया ।

चौविसे -५,बाेधे
धनकुटा

साभार : कथा फेसबुक ग्रुप (३० अप्रिल २०२०)