काठमाडौं:= नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि पनि दुई अर्ब रुपैयाँभन्दा बढी घाटा हुने जनाएको छ । मूल्य समायोजनपछि १५ दिनको जम्मा घाटा करिब दुई अर्ब ६० करोडबाट ३७ करोड घटे पनि करिब दुई अर्ब २३ करोड रुपैयाँ घाटा यथावत् रहने निगमको भनाइ छ ।
निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार मूल्य समायोजनपछि पनि प्रतिलिटर पेट्रोलमा १३ रुपैयाँ २३ पैसाले १५ दिनको घाटा करिब ४३ करोड, प्रतिलिटर डिजेलमा ११ रुपैयाँ १३ पैसाले करिब एक अर्ब एक करोड, प्रतिलिटर मट्टितेल १८ रुपैयाँ १२ पैसा नाफाले करिब दुई करोड नाफा, हवाई इन्धन आन्तरिक प्रतिलिटर १० रुपैयाँ ५० पैसाले करिब तीन करोड नाफा, हवाई इन्धन अन्तर्राष्ट्रिय प्रतिलिटर ३२ रुपैयाँ ७२ पैसाले १६ करोड नाफा र एलपी ग्याँस प्रतिसिलिन्डर पाँच सय ६० रुपैयाँ नौ पैसाले करिब एक अर्ब रुपैयाँ घाटा हुनेछ ।
घाटाका कारण निगमले प्रतिमहिना इन्धन खरिदका लागि पाँच अर्ब रुपैयाँसम्म ऋण लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको पनि निगमको भनाइ छ । पछिल्लो पटक निगमले अपुग रकम एक अर्ब ८० करोड रुपैयाँ सरकारसँग मागेर इन्डियन आयल निगमलाई भुक्तानी गरेको थियो ।
निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १० तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर सय अमेरिकी डलर वृद्धि गरेको छ ।
मूल्य बढेसँगै डिजेल र मट्टितेल प्रलिलिटर एक सय २५ तथा पेट्रोल प्रतिलिटर एक सय ४२ रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य हालसम्मकै बढी हो । यसअघि २०७० सालमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ४० रुपैयाँसम्म पुगेको थियो । एलपी ग्याँसको मूल्य भने यथावत् राखिएको छ ।
निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी प्रतिलिटर एक सय १६ रुपैयाँ पु¥याएको छ भने अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर सय अमेरिकी डलरले वृद्धि गरी एक हजार ९५ अमेरिकी डलर पुर्याएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य बढेसँगै निगमको घाटा चुलिएको हो । इन्डियन आयल कर्पोरेसनले फेब्रुअरी १ तारिखमा नयाँ मूल्य सूची पठाएको छ ।
त्यसो त मूल्य समायोजनपछि पनि भारतको सीमावर्ती बजार रक्सौलभन्दा वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपैयाँ २४ पैसा, डिजेल २५ रुपैयाँ ३१ पैसा, एलपी ग्याँस प्रतिसिलिन्डर ५० रुपैयाँ ६५ पैसा र हवाई इन्धन आन्तरिकतर्फ भारतको कोलकाताभन्दा काठमाडौंमा प्रतिलिटर २८ रुपैयाँ ७९ पैसाले सस्तो रहेको निगमको दाबी छ ।
मूल्यवृद्धिको विरोध
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको छ । बुधबार माइतीघर मण्डलामा अखिल क्रान्तिकारीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
सो अवसरमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियममा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै तत्काल फिर्ता लिनुपर्ने बताउनुभयो । कोरोना महामारीको बेलामा जनतालाई राहत दिनुपर्नेमा सरकारले बारम्बार पेट्रोलियममा मूल्यवृद्धि गरेर आहत दिने काम गरेको गजुरेलको आरोप थियो ।
उहाँले भन्नुभयो, ‘पटक-पटक सरकारले पेट्रोलियममा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरिरहेको छ । अहिले पेट्रोल र डिजेलमा तीन रुपैयाँ मूल्यवृद्धि गरेर जनताको ढाड सेकाइएको छ । हामीले पटक–पटक जनताको चुल्हो नबल्ने स्थितिमा गरिएको मूल्यवृद्धि खारेजको माग गर्दछौँ । पेट्रोलियमको मूल्यवृद्धि गर्दा लत्ताकपडा, खानेकुरा सबैमा मूल्यवृद्धि हुन्छ, त्यो काम नहोस् ।
सरकारले कोरोना महामारीका बेलामा राहतको साटो आहत दिने काम गरिरहेको छ । अबिलम्ब मूल्यवृद्धि फिर्ता गरियोस्, फिर्ता भएन भने नेपाली जनताले सडकमा ल्याएर कारबाही गर्ने दिन आउनेछ ।’ क्रान्तिकारीकै उपाध्यक्ष शिलु न्यौपानेले पनि पेट्रोलियममा बारम्बार मूल्यवृद्धि गर्नु लाजमर्दो भएको बताउनुभयो ।




















