क्वालालम्पुर (मलेसिया):= मलेसियाको पेनाङमा अवस्थित माइक्रोन मेमोरी मलेसियन कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूले नेपालमा गत बुधबार चीनको तिब्बत हुँदै रसुवा नाका भएर आएको बाढी तथा त्यसबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसभा आयोजना गरी सम्पन्न गरेका छन्।
शोकसभामा सहभागी चक्र घिसिङ तामाङलगायत नेपालीहरूले बाढीपहिरोमा परी ज्यान गुमाएका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए। साथै, विपत्तिमा परी घाइते भएका तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना समेत गरिएको थियो।

कार्यक्रममा सहभागी नेपालीहरूले प्राकृतिक विपत्तिका कारण स्वदेशमा भएको ठूलो जनधनको क्षतिले आफूहरूलाई अत्यन्तै दुःखी बनाएको बताएका थिए। विदेशमा रहे पनि मातृभूमिमा परेको दुःख र पीडाप्रति आफूहरूको गहिरो चासो र भावनात्मक सम्बन्ध रहेको उनीहरूले बताएका छन्।




















