सुनसहित पक्राउ पर्नेमा अधिकांश विदेशबाट आउने नेपाली नागरिक
[ डिबी शर्मा ]
काठमाडौं:= त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो ६ महिनामा १७ किलो बढी अवैध सुन बरामद गरिएको छ । विमानस्थल कार्यालयले उपलब्ध गराएको विवरणअनुसार गत साउन १२ गतेदेखि माघ १९सम्म १७ किलो ४१३ ग्राम अवैध रूपमा ल्याइएको सुन बरामद गरिएको हो । कार्यालयका अनुसार ६ महिनामा ४८ जनाबाट उल्लेखित मात्रामा अवैध सुन बरामद गरिएको हो ।
विभिन्न व्यक्तिबाट बरामद गरिएको सुनको मूल्य करिब साढे १३ करोड रुपैयाँ छ । सुनसहित पक्राउ पर्ने अधिकांश नेपाली नागरिक छन् । सुनसहित पक्राउ परेका एकजना महिलाबाहेक सबै पुरुष छन् । सातजना बंगलादेशी र ६ जना भारतीयसमेत विमानस्थलबाट अवैध सुनसहित पक्राउ परेको कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
सबैभन्दा धेरै गत मंसिर २८ गते एक किलो ३११ ग्रामसुनसहित पाँच जना बंगलादेशी नागरिक पक्राउ परेका थिए भने सबैभन्दा कम साउन २१ गते ४८ ग्राम सुनसहित एकजना नेपाली पक्राउ परेका थिए । त्यस्तै, चारपटक एक किलोमाथि सुन एकैपटक बरामद गरिएको कार्यालयले जनाएको छ ।
मलद्वारमा लुकाएर ल्याएको एककिलो सुनसहित तीनजना पक्राउ
अवैध सुनसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार संयुक्त अरब इमिरेट्स (युएई)बाट आएका तीनजनालाई एक किलो १५५ ग्राम सुनसहित पक्राउ गरेको हो । विमानस्थल प्रहरीका अनुसार पक्राउ पर्नेमा गौर नगरपालिका-१० रौतहटका ३२ वर्षीय सुनीलकुमार साह, मनहरी-७ मकवानपुरका नवराज परियार र भोटेकोशी-३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन् ।
उनीहरू विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षबाट पक्राउ परेका हुन् । उनीहरूको साथबाट चार थान आइफोन पनि बरामद भएको प्रहरीले जनाएको छ । बरामद सुन र आइफोनको मूल्य करिब एक करोड रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार साह र परियार युएईबाट हिमालय एयरलाइन्स तथा शेर्पा सारजहाँबाट एयर अरेबियामार्फत बिहीबार त्रिभुवन विमानस्थल ओर्लिएका थिए ।
पक्राउ परेकामध्ये शेर्पाले मलद्वारमा लुकाएर ल्याएको एक किलो १५५ ग्राम सुन बरामद भएको छ । उक्त सुनको मूल्य ८३ लाख ३८ हजार २४७ रुपैयाँ पर्छ । त्यस्तै, साहको साथबाट ६ लाख ४० हजार मूल्य बराबरका चार थान आइफोन, तीन लाख ८५ हजार २२५ रुपैयाँ बराबरका बेरुवा औँठी र सिक्री बरामद भएको प्रहरीको भनाइ छ ।
परियारको साथबाट एक लाख ६० हजार रुपैयाँ बराबरको एउटा आइफोन र तीन लाख ९५ हजार २२५ रुपैयाँ बराबरका सुनका औँठी र सिक्री बरामद भएको हो । पक्राउ परेका तीनैजनालाई बरामद सामानसहित विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले सक्रियता बढाएको छ : एसएसपी ढकाल
विमानस्थलबाट सुनसहित पक्राउ पर्नेमा अधिकांश विदेशबाट आउने नेपालीहरू रहेको विमानस्थल सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार विदेशबाट अवैध रूपमा लुकाएर ल्याइएको सुन प्रहरीले बरामद गरेको हो । ‘अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित पक्राउ पर्नेहरू धेरै नेपाली छन्,’ उहाँले भन्नुभयो, ‘विदेशबाट लुकाएर ल्याउँदै गरेको सुन प्रहरीले बरामद गरेको हो।’
विमानस्थल प्रहरीको सक्रियताले ६ महिनामा १८ किलो सुन बरामद गर्न सफल भएको उहाँले बताउनुभयो । ‘प्रहरीको सक्रियताले विगत ६ महिनामा १८ किलो अवैध सुन बरामद भयो,’ उहाँले भन्नुभयो, ‘प्रहरीको सक्रियता बढ्यो । प्रहरीले खोजीखोजी बरामद ग¥यो । प्रहरीको सक्रियता थिएन भने त यो सबै भित्रिने रहेछ नि त ।’




















