राप्रपा अध्यक्ष लिङ्देनद्वारा दुई उपाध्यक्ष, महामन्त्रीसहित २४ पदाधिकारी मनोनयन।

काठमाडौं:= राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पदाधिकारी तथा विभाग प्रमुखमा नियुक्त गर्नुभएको छ । अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गर्नुभएको हो । साथै उहाँले पार्टीका विभिन्न ६ वटा विभागका प्रमुखहरूमा पनि जिम्मेवारी बाँडफाँट गर्नुभएको छ ।

उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरी र महामन्त्रीमा ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रल्हादप्रसाद साहलाई नियुक्त गरिएको छ । यस्तै, अध्यक्ष लिङ्देनले चारजना नेताहरूलाई पार्टीको प्रवक्ता तोक्नुभएको छ । जसमा झापाका भक्तिप्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ, पाँचथरका सगुनसुन्दर लावती र मोरङका गोपाल दाहाल रहनुभएको छ ।

यसअघि राप्रपाको महाधिवेशनबाट दुई महामन्त्री, दुई उपाध्यक्षसहित आठजना निर्वाचित भएका थिए । यस्तै, सहमहामन्त्रीमा सातजना, सहायक मन्त्रीमा ६ जना मनोनीत गरिएको छ भने सहायक प्रवक्तामा चारजना मनोनीत भएका छन् । त्यस्तै, लिङ्देनले सह–महामन्त्री बाराका मोहनप्रसाद यादव, कालिकोटका धनबहादुर बुढा, अछामका श्यामबहादुर शाही, काठमाडौंका प्रकाश रिमाल, भक्तपुरका रवीन्द्रप्रताप शाह, नुवाकोटका झनक प्याकुरेल र चितवकी रीना गुरुङलाई मनोनीत गर्नुभएको छ ।

त्यस्तै, उहाँले सहायक महामन्त्रीमा जुम्लाका रमानन्द न्यौपाने दोलखाका विजय खड्का, डोटीका प्रेम बलायर, बाँकेका ऋषिराज देवकोटा, रुपन्देहीका ताहिर अलि, नुवाकोटका दीपककुमार राईलाई मनोनीत गर्नुभएको छ । पार्टीको सहायक प्रवक्तामा दोलखाका प्रवीणकुमार थोकर तामाङ, मोरङका दिनेशकुमार साह र कञ्चनपुरका पूर्णबहादुर चन्दलाई मनोनीत गरिएको छ ।

राप्रापाले विभिन्न विभाग प्रमुख पनि तोकेको छ । अध्यक्ष लिङ्देनले विभिन्न ६ वटा विभागमा नेताहरूको मनोनयन गर्नुभएको हो । यस्तै, जुम्लाका रमानन्द न्यौपानेलाई केन्द्रीय सचिवालयको सदस्य सचिवमा मनोनयन गरिएको छ ।

आर्थिक विभाग प्रमुखमा भक्तपुरका दिनेश श्रेष्ठ, धर्म तथा संस्कृति समन्वय विभाग प्रमुखमा ललितपुरका पुष्पराज पुरुष, सूचना तथा प्रविधि विभाग प्रमुखमा खोटाङका रविन चाम्लिङ, तराई मधेश विभाग प्रमुखमा सिराहका रामप्रताप साह ‘भोला’ अभिलेख तथा मूल्यांकन विभाग प्रमुखमा काठमाडौंकी मीना सुवेदी र सहकारी समन्वय विभाग प्रमुखमा काठमाडौंकै सुदर्शन थापालाई नियुक्त गरिएको छ ।