काठमाडौं:= काठमाडौंको गुह्येश्वरीदेखि थापाथली पुलसम्मको बागमती नदी र सडकबीचको किनारामा दुवैतर्फ अनधिकृत रूपमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिले ती नदी किनारा छेउमा रहेका सुकुम्बासी बस्तीबाहेकका स्थायी संरचना हटाउन सात दिने र अस्थायी संरचना हटाउन तीन दिने सार्वजनिक सूचना जारी गरेको हो ।
मठमन्दिर, देवालय, धार्मिक स्थान, मूर्तिरहेका स्थान, स्थल, पार्कभन्दा पनि नदी र सडकबीचको किनारामा अनधिकृत रूपमा बनेका अस्थायी तथा स्थायी संरचनाहरू हटाउन शनिबार सार्वजनिक सूचना जारी गरिएको समितिका सूचना अधिकारी कमल अर्यालले बताउनुभयो ।
उहाँले आइतबार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ती नदी किनारामा संरचना बनाएर बसेका सुकुम्बासी बस्ती हटाउने विषयले भने अहिले प्रवेश नपाएको स्पष्ट पार्नुभयो । सूचना अधिकारी अर्यालले ती नदी किनाराका सुकुम्बासी बस्ती हटाउनका लागि उनीहरूको उचित व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग र सम्बन्धित निकायसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो ।
समितिका अनुसार थापाथली बागमती किनारामा मात्रै १४५ घरधुरी सुकुम्बासी बस्ती छ । त्यो बस्ती हटाउने विषयमा त्यहाँका समिति, भूमि आयोग र सम्बन्धित निकायहरूसँग छलफल भइरहेको समितिले जनाएको छ । सो समितिले यसअघि यस्तै प्रकृतिको सूचना सार्वजनिक गरेर गोकर्णदेखि गुह्येश्वरी नदी किनारामा अनधिकृत रूपमा बनेका २७ वटा संरचनाहरू हटाउने काम गरेको थियो ।
समितिका सूचना अधिकारी अर्यालले आजभन्दा १५ दिनअघि सो खण्डमा अनधिकृत रूपमा बनेका २७ वटा संरचनाहरू हटाउने काम गरिएको बताउनुभयो । समितिले बागमती नदीको सौन्दर्यमाथि आँच आउने अनधिकृत रूपमा बनेका सबै संरचनाहरू सम्बन्धित पक्षसँग अनुमति लिएर, छलफल गरेर हटाउँदै जाने पनि स्पष्ट पारेको छ ।



















