साउदी अरबमा नेपाली श्रमिकको सुरक्षा र उद्धारमा दूतावास सक्रिय।

साउदी अरेबिया := साउदी अरबस्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूको सुरक्षा, उद्धार तथा कानुनी सहजीकरणमा सक्रियता बढाएको जनाएको छ। दूतावासले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत साउनदेखि हालसम्म विभिन्न कारणले १३० जना नेपाली श्रमिकको मृत्यु भएको छ।

दूतावासका अनुसार अधिकांश श्रमिकको हृदयघात, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, आत्महत्या तथा दीर्घ रोगका कारण ज्यान गएको हो। त्यस्तै, कानुनी विवाद, कागजातसम्बन्धी समस्या, आर्थिक लेनदेन तथा आपराधिक अभियोगका कारण ५४४ जना नेपाली श्रमिक साउदी अरबका विभिन्न जेलमा रहेका छन्।

उनीहरूको कानुनी सहजीकरण तथा रिहाइका लागि दूतावासले स्थानीय प्रशासनसँग समन्वय गरिरहेको जनाएको छ। दूतावासका अनुसार तलब नपाउने, पासपोर्ट रोक्का गर्ने, श्रम सम्झौता उल्लंघन तथा दुर्व्यवहारजस्ता समस्यामा परेका १ हजार ५६४ जना नेपाली श्रमिकका गुनासा सम्बोधन गरिएको छ।

यस्तै, गम्भीर स्वास्थ्य समस्या भएका २७ जना श्रमिकको उपचार व्यवस्थापन गरिएको छ भने करिब ५०० जनालाई ‘एक्जिट भिसा’ उपलब्ध गराएर स्वदेश फर्काउन सहयोग गरिएको दूतावासले जनाएको छ। दूतावासले साउदी अरबमा रहेका नेपाली श्रमिकलाई सुरक्षित र कानुनी रूपमा काम गर्न आग्रह गर्दै समस्या परे तुरुन्त सम्पर्कमा आउन अनुरोध गरेको छ।