क्वालालम्पुर (मलेसिया):= नेपाल काठमाडौंस्थित मलेसियन दूतावासले मलेसिया रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ सूचना सार्वजनिक गरेको छ।वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा सिन्डिकेट अन्त्य गरेको नेपाल सरकारको दाबीलाई मलेसियन दूतावासले सार्वजनिक गरेको सूचनामार्फत चुनौती दिएको छ।
मलेसियामा काम गर्न जाने श्रमिकको स्वास्थ्य परीक्षण तोकिएका ३६ स्वास्थ्य संस्थाले मात्रै गर्दै आएकोमा नेपाल सरकारले अनुमति प्राप्त सबै मापदण्ड पुगेका स्वास्थ्य संस्थाबाट परीक्षण खुला गरेको घोषणा गरेको थियो। तर, मलेसियन दूतावासले एक सार्वजनिक सूचना जारी गर्दै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण ३६ वटा स्वास्थ्य संस्थाबाट मात्रै हुने स्पष्ट पारेकोछ।
यसअघि नेपाल सरकारले २०८२ चैत १७ गते मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाहरूलाई निवेदन दिन आह्वान गरेको थियो। त्यसअनुसार मलेसियाको स्वास्थ्य परीक्षणसम्बन्धी काम गर्नलाई ५३ वटा स्वास्थ्य संस्थाहरूले निवेदन दिएको मन्त्रालयले जनाएको छ। जसमा २ वटा सरकारी अस्पताल र ५१ वटा निजी स्वास्थ्य संस्था रहेका छन्। विशेषज्ञ समितिले अध्ययन गरेपछि उनीहरूलाई स्वास्थ्य परीक्षणका लागि अनुमति दिइने मन्त्रालयले जनाएको छ।
तर यसै क्रममा मलेसियन दूतावासले सार्वजनिक सूचना जारी गर्दै, मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण ‘बायो मेडिकल सिस्टम (बिएमएस)’ मार्फत नेपालका ३६ वटा स्वास्थ्य संस्थाबाट मात्रै भइरहेको स्पष्ट पारेको हो। यसले नेपाल सरकारले लागू गरेको खुला प्रतिस्पर्धाको व्यवस्था मलेसिया जाने श्रमिकका हकमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको संकेत गरेको छ।

नेपाल सरकारले निर्धारण गरेको शुल्कबाहेक मलेसिया सरकारले बायो मेडिकल सिस्टम सेवा शुल्कबापत ३ हजार रुपैयाँ तोकेको उल्लेख छ। साथै, उक्त खर्च रोजगारदाताले व्यहोर्नुपर्ने व्यवस्था रहेको पनि दूतावासले जनाएको छ।
दूतावासका अनुसार नेपालमा बिएमएस कार्यान्वयन, शुल्क संकलन तथा कानुनी रूपमा रकम पठाउने जिम्मेवारी म्याक्रो टेक प्रालि र बेस्टिनेट एसडीएन. बीएचडीलाई दिइएको छ । यी संस्थाले नेपाल र मलेसिया सरकारबीचको सम्झौता प्रावधानअनुसार नै काम गरिरहेको दूतावासको दाबी छ ।




















