झापा:== प्रदेश १ सरकारको स्वामित्वमा रहेको जिल्लाकै एकमात्र ठूलो मेची अस्पताल भद्रपुर लामो समयदेखि एम्बुलेन्सविहीन छ । कोरोना भाइरस संक्रमणको तेस्रो लहर तीव्र गतिमा समुदायस्तरमा फैलिरहेको अवस्थामा जिल्लाकै ठूलो सरकारी मेची अस्पतालको स्वामित्वमा एउटा पनि एम्बुलेन्स छैन ।
करिब नौ महिनाअघि एम्बुलेन्स बिग्रिएर अस्पताल परिसरमा थन्काइएको छ । अस्पताल प्रशासनले नयाँ एम्बुलेन्स ल्याउन कुनै ठोस कदम चालेको छैन । भारतीय राजदूतावासले सन् २००८ मा मेची अस्पताललाई मे १ झ ९१ नम्बरको (ग) वर्गको एउटा एम्बुलेन्स दिएको थियो । त्यसभन्दा अघि संयुक्त राष्ट्र शरणार्थी निकाय (युएनएचसिआर) ले मेचीलाई मे १ झ ६८ नम्बरको एम्बुलेन्स दिएको थियो ।
युएनएचसिआरले दिएको एम्बुलेन्स काम नलाग्ने भएपछि भारतीय राजदूतावासले नयाँ एम्बुलेन्स दिएको अस्पताल प्रशासनले जनाएको छ । अहिले बिग्रिएका दुवै एम्बुलेन्स एकै ठाउँमा राखिएको छ । दुवै एम्बुलेन्स काम नलाग्ने भएपछि थन्काइएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिनुभयो । नयाँ एम्बुलेन्स मागका लागि प्रदेश १ सरकारलाई पत्राचार गरिसकेको उहाँले बताउनुभयो ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार ५० शøयाभन्दा माथि वा प्रादेशिक अस्पतालले कम्तीमा (क) वर्गको एउटा र (ख) वर्गको एउटा गरी दुईवटा एम्बुलेन्स सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ । तर, मेचीमा (क) र (ख) वर्गको त परै जाओस्, अहिले (ग) वर्गको पनि एम्बुलेन्स नहुँदा असहाय, गरिब तथा सडक दुर्घटनामा परेका व्यक्तिहरू निःशुल्क सेवा पाउनबाट वञ्चित हुनुपरेको छ ।
निर्देशिकाले असहाय, गरिब तथा सडक दुर्घटनामा परेका व्यक्तिहरूलाई एम्बुलेन्सले निःशुल्क सेवा दिनुपर्ने उल्लेख गरेको छ । एम्बुलेन्स नहुँदा अस्पतालमा कार्यरत एम्बुलेन्स चालक जयविन्द्र सिंह र डिल्ली खरेललाई प्रशासन पक्षले अन्य कामकाजमा खटाएका छन् । ‘कोरोनाको पहिलो लहरमा एम्बुलेन्स बिग्रिँदा पनि जसोतसो सञ्चालन गरेका थियौँ,’ चालक सिंहले भन्नुभयो, ‘दोस्रो लहर सुरु भएलगत्तै अस्पतालको एउटा एम्बुलेन्स पनि बिग्रियो, त्यसलाई बनाएर चलाउँदा पनि सम्भव भएन ।’ त्यस्तै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंकप्रसाद बाह्रकोटीले नयाँ एम्बुलेन्स ल्याउने पहल भइरहेको बताउनुभयो ।
अस्पतालमा एम्बुलेन्स नहुँदा समस्या भइरहेको बताउँदै अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले भन्नुभयो, ‘एम्बुलेन्स पुरानो भएपछि यसअघि कयौँपटक अस्पताल प्रशासनले प्रदेश तथा संघीय सरकारलाई नयाँ एम्बुलेन्स पठाइदिन भनी पत्राचार गरिसकेको अवस्था छ तर त्यसतर्फ दुवै सरकारको ध्यान गएको छैन ।
दातृ निकाय र अन्य संघसंस्थालाई पनि आग्रह गरिरहेका छौँ ।’ ‘एम्बुलेन्स खरिद सामान्य खर्चको कुरा हो तर अस्पतालको आन्तरिक स्रोतबाट नयाँ एम्बुलेन्स खरिद गर्न सक्ने अवस्था छैन,’ उहाँले भन्नुभयो । प्रदेश १ सरकारले हालसम्म प्रादेशिक अस्पताल नामाकरण गर्न नसकेको मेची अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीहरू निजी एम्बुलेन्स प्रयोग गर्न बाध्य बनेका छन् ।




















