‘सिन्धुलीगढी’ नाममा फिल्म बन्ने, साउथ फिल्म निर्देशक एसएस राजामौलीले सघाउने।

काठमाडौं:= विश्वमणि घिमिरेको निर्देशनमा नयाँ चलचित्र ‘सिन्धुलीगढी’ बन्ने भएको छ । विसं १९२४ ताका नेपाल र अंग्रेजबीच भएको युद्धमा आधारित भएर चलचित्र ‘सिन्धुलीगढी’ निर्माण हुने बताइएको छ । चलचित्र सास इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुनेछ भने कथा पनि निर्देशक घिमिरेले नै लेख्नुभएको छ ।

सास अधिकारीले निर्माण गर्ने चलचित्रको छायांकन सिन्धुलीगढी र काभ्रे हुने जनाइएको छ । निर्माता अधिकारीले लामो समयदेखिको खोज, अध्ययन र अनुसन्धान पश्चात् फिल्म निर्माण गर्न लागेको फेसबुकमार्फत् जानकारी दिनुभएको छ । उहाँले चलचित्रलाई दक्षिण भारतका चर्चित निर्देशक एसएस राजामौलीले सहयोग गर्ने पनि बताउनुभएको छ । चलचित्रको पोष्ट प्रोडक्सनको काम मुम्बईमा हुनेछ ।

निर्माता अधिकारीले चलचित्रलाई हिन्दी र अंग्रेजी भाषामा डब गरिने जानकारी दिनुभयो । चलचित्रका लागि मुख्य कलाकार अडिशनको प्रक्रियाबाट छनोट कार्य भइरहेको बताइएको छ । चलचित्रको निर्माण टिम कोरोना महामारीको अवस्था हेरेर फागुनको दोस्रो साताबाट छायांकन सुरु गर्ने तयारीमा छ ।