निजी क्षेत्रको हवाई कम्पनी हिमालय एयरलाइन्सलाई नेपालमै पहिलोपटक आइएसओ प्रमाणपत्र।

काठमाडौं := नेपाल-चीन संयुक्त लगानीको निजी क्षेत्रको हवाई कम्पनी हिमालय एयरलाइन्सले नेपालमै पहिलोपटक आइएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ । एयरलाइन्सलाई स्तरीय व्यवस्थापन प्रणालीका आधारमा आइएसओ ९००१ः२०१५ का मापदण्डअनुरूप व्यवस्थित भएकै कारण आइएसओ ९००१ः२०१५ बाट प्रमाणीकरण गर्दै गत डिसेम्बर २९ मा प्रमाणपत्र प्रदान गरिएको एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले हवाई यात्रा गर्ने यात्रु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिमलगायतका गुणस्तरीय सेवा प्रणालीको व्यवस्थापन गरेबापत यस्तो प्रमाणीकरण प्राप्त गरेको बताइएको छ ।हिमालयन अगस्ट २०२० मै हवाई जहाज मर्मत-सम्भार तथा उड्डयनसम्बन्धी इन्जिनियरिङ सेवाबापत आइएसओबाट प्रमाणीकरण भएको थियो ।

हिमालय एयरलाइन्सका अध्यक्ष झोए न्योङ्गलले आफ्नो व्यवस्थापकीय समूहलाई बधाई ज्ञापन गर्दै हिमालय एयरलाइन्सले आइएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गर्नु अत्यन्तै गर्वको अवसरका साथै सबैको सामूहिक प्रयासको उत्कृष्ट प्रतिफल भएको बताउनुभयो । उपाध्यक्ष विजय श्रेष्ठले हिमालय व्यवस्थापन टोलीका लागि उल्लेखनीय उपलब्धि भएको बताउनुभयो ।

नेपाल–चीन संयुक्त उद्यमका रूपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा प्रदान गर्दै, गराउँदै आएको निजी वायुसेवा कम्पनी हो । एउटा विमान र एउटा गन्तव्यबाट सञ्चालन सुरु गरेको एयरलाइन्सले हाल चारवटा विमानमार्फत् सात गन्तव्य स्थानमा उडान गर्दै आएको छ । पहिलो उडान सेवा मे ३१, २०१६ मा कतारको दोहाबाट सुरु गरेको एयरलाइन्सले हाल युएई, मलेसिया, साउदी अरेबिया, बंगलादेश र चीनमा उडान भर्दै आएको छ ।