काठमाडौं:= आयोजक नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि सोमबार मोरिसस टोली काठमाडौं आइपुगेको छ । पहिलोपटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
पहिलोपटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा रहेको हो । हाल फिफा वरीयताको १७२औँ स्थानमा रहेको मोरिसस टिमले नेपालसँग सुखद नतिजाको लक्ष्य लिएर आएको बताएको छ । यद्यपि कोरोना र चोटका कारण मुख्य खेलाडीबिना नै मोरिसस नेपाल आएको हो । पहिलोपटक नेपाल आएको र माल्दिभ्ससँग नेपालको खेल हेरेर आफ्नो रणनीति बनाएको मोरिससका मुख्य प्रशिक्षक माइरी पास्कल टोनी फ्रान्कोइसले बताउनुभयो ।
नेपालसँग हुने खेल मोरिससले मार्चमा हुने अफ्रिकन कप अफ नेसन्सको छनोटको तयारीका रूपमा लिएको छ । घरेलु टोलीसँग खेल्न सहज नहुने भन्दै राम्रो फुटबल खेलेर स्वदेश फर्किने लक्ष्य रहेको प्रशिक्षकले बताउनुभयो ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ १५ र १८ गते हुँदैछ । नेपाल आइपुगेको टोलीको कोरोना परीक्षणपश्चात् मात्र अभ्यास गर्न अनुमति दिने एन्फाको तयारी रहेको छ । कोभिड मापदण्डअन्तर्गत मोरिसस टोली खेलभन्दा पाँच दिनअगाडि नै काठमाडौं आइपुगेको हो ।




















