भुटानिज युथ क्लबलाई पराजित गर्दै एपिएफ सेमिफाइनलमा।

पोखरा:=  भुटानिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) लाई पराजित गर्दै नेपाल एपिएफ फुटबल क्लब पोखरामा जारी २०औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनलमा एपिएफले ३-१ को जित हात पार्दै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

दोस्रो हाफको ४८औँ मिनेटमा बिवाइएससीले सुरुवाती अग्रता लिएको थियो । मिगेल पालाफक्सले हेडरमार्फत् गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाउनुभएको थियो । तर, त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै एपिएफ अघि बढ्यो । ६९औँ मिनेटमा एपिएफले आवास लामिछानेको पेनाल्टीमार्फत् खेल बराबरीमा ल्यायो । ८४औँ मिनेटमा वैकल्पिक खेलाडी रवि थिङले गोल गर्दै एपिएफको अग्रता दोब्बर पार्नुभयो ।

यस्तै इन्जुरी समयमा रविले व्यक्तिगत दोस्रो तथा एपिएफका लागि तेस्रो गोल गर्नुभयो । एपिएफले अब सेमिफाइनलमा सोमबार हुने संकटा र मच्छिन्द्रबीचको विजेतासँग खेल्नेछ । आइतबार प्रतियोगिताअन्तर्गत मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराद्वारा आयोजित २०औँ संस्करणको प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब, आयोजक सहारा र एक विदेशीसहित १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा संकटा फुटबल क्लब, मच्छिन्द्र क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, बिवाइएससी मिनेसोटा अमेरिका र सहारा क्लब पोखराको सहभागिता रहनेछ ।

आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।