सिड्नी:= स्पेनिस टेनिस खेलाडी राफाल नाडाल अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गर्नुभएको छ । मेलवर्न पार्कमा शुक्रबार भएको ३०औँ वरीयताका रसियन करिन खाँचानोभलाई ३-१ को सेटमा पराजित गर्दै नाडालले अन्तिम १६ मा स्थान पक्का गर्नुभएको हो ।
एकपटकको च्याम्पियन तथा पाँचपटक फाइनलमा प्रवेश गर्नुभएका ३५ वर्षीय नाडालले खाँचानोभलाई ६-३, ६-२, ३-६ र ६-१ को सेटमा हराउनुभयो । अब नाडालले प्रि-क्वार्टरफाइनलमा १५औँ वरीयताका रसियन अस्लान कारातसेभसँग खेल्नुहुनेछ ।
नाडालले २००९ मा स्वीस रोजर फेडेररलाई हराएर पहिलोपटक अस्ट्रेलियन ओपनको उपाधि जित्नुभएको थियो । त्यसबाहेक २०१२, २०१४, २०१७ र २०१९ मा फाइनलमा पुगे पनि उहाँले उपाधि भने जित्न सक्नुभएको छैन ।
यस्तै तेस्रो वरीयताका जर्मनीका एलेक्सान्डर जेभेरेभ र साताँै वरीयताका इटालीका माटियो बेरारटिनीले पनि अन्तिम १६ मा स्थान बनाउनुभएको छ ।
जेभेरेभले मोल्दोभाका राडु अल्बोटलाई ६-३, ६-४ र ६-४ को सोझो सेटमा हराउँदा बेरारटिनीले स्पेनका १८ वर्षीय कार्लाेस एल्काराजलाई पाँचौँ सेटमा हराउनुभएको हो । बेरारटिनीले ६-२, ७-६ ९७-३०, ४-६, २-६ र ७-६ (१०-५)को जित निकाल्नुभएको थियो ।




















