काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले गत बुधबार रौतहटमा दिएको विवादास्पद अभिव्यक्तिले सत्तारूढ दलको एक घटक जनता समाजवादी पार्टीमा थप विवाद चर्किएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता डा. बाबुराम भट्टराईको टकरावले पार्टीभित्र अन्तरसंघर्ष चलिरहेको बेला मन्त्री यादवको पछिल्लो अभिव्यक्तिले थप विवाद सृजना भएको हो ।
मधेश बलिदान दिवसको अवसरमा जनता समाजवादी पार्टी जसपाले रौतहटमा गरेको कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर घटना दोहोरिने धम्की दिनुभएको थियो । उक्त अभिव्यक्तिलाई लिएर सर्वत्र विरोध भइरहेको छ । मन्त्रीबाट बर्खास्त गर्नुपर्ने मागसमेत उठिरहेको छ ।
उक्त अभिव्यक्तिलाई लिएर पार्टीभित्र वरिष्ठ नेता डा. भट्टराई र उहाँ पक्षीय नेताहरूले मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन् । वरिष्ठ नेता डा. भट्टराईले मन्त्री रेणु यादवको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै पार्टीले उहाँको बचाउ गर्न नसक्ने बताउनुभएको छ । पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका नेता डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत त्रासदीपूर्ण गौर नरसंहारको आदर्शीकरण नगर्न आग्रह गर्नुभएको छ ।
रेणु यादवको नाम नलिई उहाँले मन्त्रीको अभिव्यक्तिसँग जसपालाई कतै नजोड्न आग्रहसमेत गर्नुभएको छ । जसपाका कार्यकारिणी सदस्य एवं पार्टीभित्र भट्टराई पक्षधर नेता गंगानारायण श्रेष्ठले जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिनु जो कसैका लागि पनि शोभनीय नहुने भन्दै मन्त्री रेणु यादवलाई मन्त्रीबाट पदमुक्त गर्न अध्यक्ष यादवलाई सुझाव दिनुभएको छ ।
अर्को गौर नरसंहार मच्चाउने भनी दिएको अभिव्यक्तिले जसपाभित्र अध्यक्ष यादव दबाबमा हुनुहुन्छ । यद्यपि, उहाँले मन्त्री यादवलाई कारबाही गर्नेबारे छलफल भने सुरु गर्नुभएको छैन । अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरसियाले मन्त्री यादवको अभिव्यक्तिलाई सञ्चारमाध्यमले अतिरञ्जित बनाएको टिप्पणी गर्नुभएको छ । एकपक्षीय र अतिरञ्जितपूर्ण ढंगले फैलाइएको भ्रम र सृजना गरिएको विवाद सम्बन्धमा पार्टी अध्यक्ष यादवले कुनै निर्णय नगर्ने उहाँको भनाइ छ ।
संयोजक चौरसियाले हिमालय टाइम्स दैनिकलाई भन्नुभयो ‘विवाद सृजना गर्ने उद्देश्यले अतिरञ्जितपूर्ण ढंगले गरिएको विषयमा छलफल गर्नु आवश्यक छैन । नियतवश गरिएको कुप्रचार आफैँ सेलाएर जान्छ । शान्तिपूर्ण ढंगले गरिएको कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले पटक-पटक अवरोध गर्न मात्र खोजेनन्, कार्यक्रम नै बिथोल्न प्रयास गरे ।
उनीहरूको अवरोधका कारण मन्त्री यादव निर्धारित रुट परिवर्तन गरेर कार्यक्रमस्थलमा गए पनि अवरोध जारी रह्यो । जनमत पार्टीको कार्यकर्ताले कार्यक्रम बिथोल्न प्रयासस्वरूप मोटरसाइकल तोडफोड गरेका छन्, कार्यक्रममा सहभागी कतिपयलाई कुटपिट गरेका छन् । तर, जसपाका नेता तथा कार्यकर्ताको संयमताको कारण कुनै अप्रिय घटना हुन पाएन ।’
मन्त्रीमा नाम सिफारिस र राष्ट्रियसभा सदस्य उम्मेदवारको सिफारिस तथा महन्थ ठाकुर पक्ष पार्टीबाट बाहिरिएपछि रिक्त पदमा मनोनीत हुन नपाएको असन्तुष्टिले पार्टीभित्र पूर्व–नयाँशक्ति नेपाल पक्षधर नेताहरूले नै घटनालाई अतिरञ्जित गर्न उद्यत रहेको पनि संयोजक चौरसियाको आरोप छ ।
गौरको राइस मिलमा २०६३ चैतमा भएको नरसंहारमा हालको जसपा तत्कालीन मधेसी जनअधिकार फोरमले २७ जना माओवादी कार्यकर्ताको हत्या गरेको थियो । महिलालाई मार्नुअघि बलात्कार गरिएको थियो ।
कांग्रेस महामन्त्री शर्माले सुझाउनुभयो तीन विकल्प
मन्त्री यादवको अभिव्यक्तिप्रति सर्वत्र विरोध भइरहेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विवादास्पद अभिव्यक्ति दिने मन्त्री यादवलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नुभएको छ । हिंसा भड्काउने अभिव्यक्ति दिँदासमेत सरकार र सत्तारूढ गठबन्धन मौन बसेको भन्दै एमालेले मौनता शंकास्पद भएको आरोप लगाएको छ ।
सत्तारूढ गठबन्धनका नेताहरूले पनि मन्त्री यादवको अभिव्यक्तिको चर्को विरोध गरेका छन् । गौर नरसंहार दोहो¥याउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको सार्वजनिक अभिव्यक्तिप्रति सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति प्रकट गर्नुभएको छ ।
कोरोना संक्रमित भएपछि आइसोलेसनमै बस्नुभएका महामन्त्री शर्माले राज्यको जिम्मेवारी पदमा बस्ने व्यक्तिको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपमा बढी जिम्मेवार हुनुपर्ने भन्दै हिंसा भड्काउने अभिव्यक्ति जोसुकैबाट आए पनि स्वीकार्य नहुने बताउनुभएको छ । विगतका हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्ने र त्यसलाई रोमान्सको अभिव्यक्ति बनाउन नहुने महामन्त्री शर्माको भनाइ छ ।
महामन्त्री शर्माले मन्त्री यादवको विवादित अभिव्यक्तिका बारेमा तीन विकल्प दिनुभएको छ । मन्त्री यादवले भूल स्वीकार गरी क्षमायाचना गर्नुपर्ने, सम्बन्धित दलले पहलकदमी लिएर राजीनामा गराउनुपर्ने र यी दुई विकल्प कार्यान्वयन हुने अवस्था नआए पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको ठहर गर्दै प्रधानमन्त्रीले मन्त्री यादवलाई पदमुक्त गर्नुपर्ने गरी महामन्त्री शर्माले तीन विकल्प दिनुभएको हो ।
जनमोर्चाको पनि विरोध :
सत्तारूढ गठबन्धनको अर्को घटक राष्ट्रिय जनमोर्चाले पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्तिको विरोध गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गरी व्यक्ति मन्त्री यादवको अभिव्यक्तिको विरोध गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ ‘सिके राउतको हत्या गर्नेसम्बन्धी दिएको अभिव्यक्तिप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ, राष्ट्रिय जनमोर्चाले व्यक्ति हत्याको राजनीतिलाई सही मान्दैन ।’ विज्ञप्तिमा सरकारको जिम्मेवार मन्त्रीले त्यस्तो अभिव्यक्ति दिनु गलत रहेको भन्दै भत्र्सना गरिएको छ ।
मन्त्री रेणु यादव भन्नुहुन्छ : राजीनामा किन दिने ?
जनता समाजवादी पार्टी नेपालकी नेतृ रेणु यादवले आफूले गौर घटना पुनः दोहोरिने वा सिके राउतलाई मार्ने कुरा नबोलेको दाबी गर्नुभएको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले आफूविरुद्ध गरेको आन्दोलन र त्यसबाट उत्पन्न मुठभेडको स्थितिलाई हेरेर आफूले गौर घटना पुनः दाहोरिन सक्ने कुरा बोलेको मन्त्री यादवको दाबी छ ।
उहाँले भन्नुभयो, ‘राजीनामाको कुरा उठाउनुभन्दा पहिले रौतहटमा माघ ५ गते के भएको थियो, त्यसको सत्यतथ्य छानविन हुनुपर्छ, मैले त्यहाँ के बोलेको थिएँ र जनमत पार्टीका नेताहरूले कसरी त्यो कुरालाई अतिरञ्जित गरेका छन् त्यसको छानविन हुनुपर्छ । छानविनबाट जे कुरा आउँछ त्यसपछि पार्टीले त्यसको बारेमा निर्णय लिन्छ ।
त्यहाँ तीनवटै तहका सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति थियो । त्यहाँ के–के भएको थियो, मैले के बोलेको सबै कुराको रेकर्ड उनीहरूसँग छ ।’ सरकारले उक्त दिनको घटनाको छानविन गरेपछि सबै कुरा बाहिर आउने मन्त्री यादवको भनाइ छ ।
जनमत पार्टीलाई जसपाको चेतावनी :
गत बुधबार मन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको बेला मन्त्री यादवको पार्टी जनता समाजवादी पार्टी जसपाले सिके राउतको पार्टी जनमत पार्टीलाई चेतावनी दिएको छ । जसपाले शनिबार विज्ञप्ति जारी गर्दै बुधबार गौरमा जनमत पार्टीका कार्यकर्ताले हिंसा भड्काउन खोजेको आरोप लगाएको छ ।
केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी नेपालको कार्यक्रम तथा यसका कुनै नेता तथा कार्यकर्ताविरुद्ध लक्षित यस्ता आपराधिक कार्य अब उप्रान्त नगर्न सचेत गराइन्छ ।’ साथै जनमत पार्टीले गैरराजनीतिक क्रियाकलाप गरिरहेको भन्दै जसपाले त्यस्ता क्रियाकलाप तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।




















