ठेकेदारले समयमै पुल नबनाउँदा जनतालाई सास्ती, ९ वर्षसम्म पनि बनेन।

खोटाङ:= ठेकेदारले पुल नबनाउँदा जनतालाई सास्तीमाथि सास्ती हुने गरेको छ । सम्झौताअनुसार चार वर्षमा सक्नुपर्ने फोक्सिङटारस्थित सुनकोशी नदिमाथिको आर्च डिजाइनको पुल नौ वर्षपछि पनि नबन्दा जनतालाई आवतजावत गर्न र दैनिक खाद्यान्न ढुवानीमा सास्ती भएको हो ।

पुलको ठेक्का पारेको पार्वती–वाइपी जेभीले पुलको काम सन्तोषजनक नगरी लथालिंग पारेर जनतालाई पटक–पटक सास्ती दिइरहेका छन् । सगरमाथा राजमार्गको गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटारको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदीमाथि १२० मिटरको आर्च डिजाइनको पुलको ठेक्का पारेको जेभीले पुल बनाउनुको सट्टा लथालिंग पारेर जनतालाई दुःख दिएका हुन् ।

सम्झौताअनुसार जेभीले २०६९ चैत २३ गते सम्झौता गरेर २०७३ चैत २२ गते पुल निर्माण गरिसक्नु पर्ने थियो । तर, पटक-पटक म्याद थप गर्दै काम नगरेपछि पुल निर्माणको कामले गति लिनै सकेन । पहिलो म्याद गुजारेको जेभीले क्रमशः २०७५ चैत ३० गतेसम्म र २०७७ पुस १३ गतेसम्म म्याद थपेर पनि काम गरेन । अहिले कोभिडका कारणले २०७८ चैत ३० गतेसम्म म्याद थप भएको छ ।

सडक विभागको १९ करोड ६० लाख नौ हजार ९४१ रुपैयाँ लगानीमा चार वर्षमा सक्नुपर्ने पुलको काम नौ वर्ष बित्दा भर्खर भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३६ प्रतिशत मात्रै भएको छ । कोभिडको बहाना र ठेकेदारको मुख्य लापरबाहीले पुलको कामै नभएको हो । ठेकेदारले पटक-पटक काम नगरी पुल अलपत्र पार्दा पनि सम्बन्धित निकायहरू भने मौन बसेको पाइन्छ ।

जिल्लालाई तराईसँग जोड्ने मूलद्वारको रूपमा रहेको पुल बनाउनमा स्थानीय प्रशासन, राजनीतिक दल, सरोकारवालाले ठेकेदारलाई दबाब दिएको अहिलेसम्म देखिएको छैन । नियमक निकाय नहुँदा ठेकेदारलाई नौ वर्षसम्म आराम मिल्यो । चार वर्षमा सक्नुपर्ने पुलको काम नौ वर्षमा ६० प्रतिशत भएको साइड इञ्चार्ज मदन मगरले दाबी गर्नुभयो ।

नौ वर्षपछि कछुवा गतिमा काम

नौ वर्षपछि भने साइडमा आर्चको सामान झारेर ठेकेदारले कछुवा गतीमा काम सुरु गरेको छ । पुलको काम हेर्दै आएको पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानका इञ्जिनियर अजयकुमार शाहका अनुसार अहिले आर्चको फर्मा लगाउने काम भइरहेको छ । आर्चमै बढी पैसा हुन्छ । आर्च लगाउँदैछ । आर्च लगाएपछि त काम नगरे बाढीले बगाइदिन्छ । इञ्जिनियर शाहले भन्नुभयो, ‘जसरी पनि काम सकाउनुपर्छ तपाईंहरू ढुक्क भए हुन्छ । आर्च लगाएपछि हामीभन्दा उहाँहरू बढी काममा तातिनुहुन्छ ।’

आर्च ब्लक फाउण्डेसनको काम सकेर वारिपारि २०÷२० मिटर स्ल्याब ढलान गरिसकिएको जेभीका इञ्जिनियर नरेश भगतले बताउनुभयो । आवश्यक सबै सामानहरू साइडमा झरेको छ । ४०÷४५ दिनमा आर्चको फर्मा लगाइसक्छौँ । भगतले भन्नुभयो, ‘आर्चको काम सकेपछि ८० मिटर स्ल्याब ढलान गर्छौं, त्यति गरेपछि पुलको काम सकिन्छ । अहिले धमाधम आर्चको फर्मा लगाइरहेका छौँ ।’

वारि २५० र पारि २५० मिटर एप्रोच रोड पनि बनिसकेको र फाइनल गर्न बाँकी रहेको छ । वर्ष दिनमा पुलको काम सकिने भगतको दाबी छ । पुलको काम लथालिंग बनाउने जेभीका आधिकारिक प्रतिनिधि रामकुमार थापालाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । ठेक्का लिने र साइड अरूलाई जिम्मा दिएर काठमाडौंमा बसोबास गर्ने जेभीका प्रतिनिधि थापाका कारण राज्यले ठूलो आर्थिक भार व्यहोर्नु परिरहेको छ ।

पुलको ठेक्का पारेको थापाले बेलैमा पुल नबनाउँदा बन्दै गरेको पुल नजिकै बर्सेनि लाखौँ रकम खर्चेर अस्थायी बेलिब्रिज लगाइँदैै आइएको छ । यो वर्ष मात्रै सडक विभागले पुस १ गते ७८ लाख बजेटमा ५० मिटरको बेलिब्रिज जडान गरेको छ । गत वर्ष ८४ लाखमा रेग्मी निर्माण सेवाले बेलिब्रिज जोड्ने र फुकाल्ने काम गरेको थियो । थापाले नदीमाथि बेलैमा पुल निर्माण नगरेपछि सवारीसाधनलाई कोशी वारपार गर्न नदीमा पानी घटेपछि बेलिब्रिज राख्ने र पानी बढेपछि फुकाल्ने गरिँदै आएको छ ।