म्याड्रिड:= इल्चेलाई २-१ गोलअन्तरले पराजित गर्दै रियल म्याड्रिडले स्पेनिस कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ । म्याड्रिडका लागि मिडफिल्डरद्वय इस्को र इडेन हाजार्डले गोल गर्नुभयो । इल्चेका गोन्जालो भेर्डुले एक गोल फर्काउनुभएको थियो ।
बिहीबार राति भएको खेलको निर्धारित समयमा कुनै गोल निस्कन नसकेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । १०३औं मिनेटमा गोन्जालो भेर्डुले फ्रिकिक गोल गरेपछि रियल १-०ले पछि परेको थियो । १०८औं मिनेटमा इस्कोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउनुभयो । ११५औं मिनेटमा अर्का सब्सिच्युट मिडफिल्डर हाजार्डले गोल गर्दै रियललाई २-१ को जित दिलाउनुभयो ।
यता साविक विजेता बार्सिलोना भने कोपा डेल रेको प्रि–क्वार्टरफाइनलबाट बाहिरिएको छ । एथलेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३-२ ले स्तब्ध हुँदै बार्सिलोना अन्तिम १६ मै निराश बनेको हो । बिल्वाओको लागि इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गर्नुभएको थियो । बार्सिलोनाका फेरान टोरेस र पेड्रीले गोल गर्नुभएको थियो ।




















