मुम्बई एजेन्सी:= महेन्द्र सिंह धोनीले भारतीय क्रिकेट टोलीको कप्तानी सन् २००८ बाट सुरु गर्नुभएको थियो । जब धोनीले भारतीय टोलीको कप्तानी सम्हाल्नुभयो तब उहाँलाई निकै चुनौतीको सामना गर्नुपरेको थियो । जस्तो, युवालाई मौका दिनु र भविष्यमा सफल टिम निर्माण गर्नु । धोनीले सबै चुनौतीको सामना गर्दै भारतीय टोलीलाई ऐतिहासिक सफलता पनि दिनुभयो ।

धोनीको कप्तानीमा भारतले सन् २००७ मा आइसिसी टी-२० विश्वकप, सन् २०११ मा क्रिकेट वल्र्डकप, सन् २०१३ मा आइसिसी च्याम्पियन्स ट्रफी जित्यो । यससँगै सन् २००९ मा पहिलोपटक टेस्ट क्रिकेटमा एक नम्बर बन्यो । यस्तै धोनीले आफ्नो कप्तानीमा यस्ता पाँच खेलाडीलाई मौका दिनुभयो जो भारतका लागि ‘म्याच विनर’ बन्न सफल भए । आज यिनै पाँच क्रिकेटरले विश्व क्रिकेटमा आफ्नो छाप राखेका छन् ।

विराट कोहली
विराट कोहलीले धोनीको कप्तानीमा आफ्नो ‘करिअर’ सुरुवात गर्नुभएको थियो । विराट कोहलीलाई एकदिवसीय (५० ओभर) मा नम्बर तीनमा ल्याउने मौका धोनीले नै दिनुभएको थियो । धोनीले कोहलीको राम्रो प्रदर्शन देखेर टेस्ट टोलीमा समेत मौका दिनुभयो । कोहली सन् २०११-१२ को अस्ट्रेलिया भ्रमणमा सफल हुनुभएको थिएन । तर, धोनीले उहाँलाई लगातार मौका दिनुभयो । जहाँ कोहलीले अर्धशतकसमेत लगाउनुभयो ।
कोहलीले एडिलेटमा शतक बनाएर आलोचकलाई जवाफ फर्काउनुभएको थियो । सन् २०१२ मा पर्थमा टिम छनोटकर्ताले कोहलीको स्थानमा रोहित शर्मालाई मौका दिन चाहनुहुन्थ्यो । तर, धोनीले आफ्नो ११ टिममा विराट कोहलीलाई सामेल गराउनुभयो । यो कुरा भारतीय पूर्वब्याटर वीरेन्द्र सहवागले बताउनुभएको थियो । सोही समय सहवाग उपकप्तान हुनुहुन्थ्यो र उहाँले धोनीलाई बताएअनुसार नै रोहितको स्थानमा कोहलीलाई छनोट गरिएको थियो ।
रोहित शर्मा
धोनीले रोहित शर्माको लगातार खराब प्रदर्शनका बाबजुद मौका दिइरहनुभयोे । जसले उहाँको करिअर पूरै बदलिएको थियो । रोहितलाई एकदिवसीय क्रिकेटमा ओपनर बनाउन धोनीको सबैभन्दा ठूलो योगदान रहेको छ । सन् २०१३ मा जब धोनीले रोहितलाई ओपनिङ गर्ने मौका दिनुभयो तब रोहितको अलग रूप देख्न पाइएको थियो । रोहित शर्मालाई आक्रामक बनाउन धोनीको ठूलो हात रहेको छ ।
रविचन्द्रन आश्विन
रविचन्द्रन आश्विन आज विश्वको एक उत्कृष्ट अफ स्पिनर बलरका रूपमा परिचित हुनुहुन्छ । धोनीले पहिलोपटक सन् २०१० को आइपिएलमा खेल्न मौका दिनुभएको थियो आश्विनलाई । जहाँ उहाँको सानदार प्रदर्शन रहृयो । आश्विन चेन्नाई सुपर किङ्स (सिएसके) मा धोनीको कप्तानीमा खेल्ने गर्नुहुन्थ्यो ।
धोनीले आश्विनको प्रतिभा देख्नुभयो र भारतीय टोलीमा समावेश गर्नुभयो । जसका कारण भारतीय टिममा आश्विनले स्थान पाउनुभएको छ । आश्विन सन् २०१० मा टिममा पर्नुभयो । त्यसको एक वर्षपछि नै सन् २०११ को विश्वकपका लागि उहाँले टोलीमा स्थान बनाउनुभयो । यसरी नै आश्विनले टेस्टमा समेत खेल्ने मौका पाउनुभयो ।
रविन्द्र जडेजा
रविन्द्र जडेजा भारतीय टोलीका सबैभन्दा बढी ‘म्याच विनर’ बन्नुभएको छ । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा जडेजामाथि कसैले जवाफ फर्काउन सक्दैन । जडेजालाई भारतीय टोलीमा स्थान दिनेमा धोनीकै हात रहेको छ । जडेजाले धोनीको कप्तानीमा चेन्नाई सुपर किङ्सबाट आइपिएल खेल्नुभयो ।
आफ्नो मनकारी खेलाडी भएकै कारण धोनीले आइपिएलमा जडेजालाई स्थान दिनुभयो । उहाँले कहिल्यै पनि जडेजालाई निकाल्ने प्रयास गर्नुभएन । उहाँले मौका मात्र दिनुभयो । जसका कारण जडेजा उत्कृष्ट अल राउन्डर बन्न सफल हुनुभयो।
सुरेश रैना
महेन्द्रसिंह धोनी र सुरेश रैनाको मित्रता विशेष छ । अहिले त रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसक्नुभएको छ । तर, रैना आइपिएलमा चेन्नाई सुपर किङ्सका लागि सबैभन्दा बढी ‘म्याच विनर’ बन्नुभयो । धोनीले रैनालाई आफ्नो कप्तानीमा भारतीय टिममा धेरै मौका दिनुभएको थियो । धोनीले रैनाका बारेमा बताउनुभएको थियो कि, ‘रैना सबैभन्दा राम्रो खेलाडी हुन् ।
यस्तोमा हामीले उनलाई समर्थन गर्नुपर्छ । यदि हामी उसलाई समर्थन गर्दैनौं त उसले आफ्नो ‘नेचुरल’ खेल खेल्दैन र सस्तोमा आउट हुनेछ ।’ धोनीले रैनालाई लगातार खेल्ने मौका दिनुभएको थियो । जसका कारण रैना आज पनि टी–२० क्रिकेटमा खतरनाक खेलाडीका रूपमा चिनिनुहुन्छ । यसै कारण पनि रैनालाई उत्कृष्ट खेलाडी बनाउनमा धोनीको ठूलो हात रहेको मानिन्छ ।




















