काठमाडौं:= केही दिन ब्रेक लागेको सेयर बजार बिहीबार फेरि आकाशिएको छ । नेप्से ३३.०३ अंकले बढेर २९३१.३४ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७६ अंकले बढेर ५४३.७४ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । यस दिन कुल दुई सय २९ कम्पनीको एक करोड ५९ लाख ८९ हजार सात सय ४४ कित्ता सेयर पाँच अर्ब ७७ करोड ३१ लाख २० हजार चार सय नौ रुपैयाँमा कारोबार भएको छ ।
तर, बुधबार नेप्से घटे पनि छ अर्बभन्दा बढीको कारोबार भएको थियो । बिहीबार कारोबारमा आएका १३ समूहगत सूचकमध्ये बैंकिङ र म्युचुअल फन्डबाहेक ११ समूहका सूचक बढेका छन् । विकास बैंक सर्वाधिक ३.३६ प्रतिशत, फाइनान्स ३.०४, जीवन बिमा २.८६, जलविद्युत् २.२३, निर्जीवन बिमा २.०६ र लघुवित्त १.०८ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड ०.१४ र बैंकिङ भने ०.०५ प्रतिशतले घटेको छ ।
आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सर्वाधिक २२ करोड २० लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ भने अपि पावरको १८.७४ करोड, शिखर इन्स्योरेन्सको १७.६७ करोड, अरुण भ्याली हाइड्रोपावरको १६.११ करोड र नेपाल टेलिकमको १५.६७ करोडको सेयर कारोबार भएको छ ।
मैलुङखोला जलविद्युत् र तेह्रथुम पावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर ९.९७, न्यादी हाइड्रोपावर ८.८६, गुराँस लाइफ ७.७९, युनियन हाइड्रोपावर ७.२४, कर्पोरेट डेभलपमेन्ट बैंक ६.९१, सिन्धु विकास बैंक ६.२४, गणपति लघुवित्त ६.०८ र स्वाभिमान लघुवित्तको ६.०६ प्रतिशतले बढेको छ ।




















