राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जनलाई सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी सम्मान।

पोखरा:= राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ प्राप्त गर्नुभएको छ । पोखरामा बिहीबारबाट सुरु भएको आहा रारा गोल्ड कप फुटबलको उद्घाटन खेलमा अञ्जनलाई आयोजक सहारा क्लबले उक्त सम्मान दिएको हो । सम्मानपत्रसहित अञ्जनलाई ३५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

अञ्जन पछिल्लो आठ वर्षदेखि राष्ट्रिय टोलीको सदस्य रहँदै आउनुभएको छ । २०७२ सालमा साफ यू-१९ च्याम्पियन बन्दाका सदस्य रहनुभएका अञ्जन २०७२ मै बंगबन्धु गोल्ड कपको उपाधि जित्दाका सदस्यसमेत हुनुहुन्छ । यस्तै सोही वर्ष यू-२३ टोलीले १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दासमेत उहाँ त्यस टोलीमा हुनुहुन्थ्यो । लगत्तै उहाँ सम्मिलित नेपाली टोलीले २०७३ मा सोलिडारिटी कपको उपाधिसमेत जितेको थियो ।

२३ वर्षे अञ्जनले राष्ट्रिय टोलीबाट सात गोल गरिसक्नुभएको छ । सन् २०१४ मा फिलिपिन्सविरुद्ध खेल्दै उहाँले राष्ट्रिय टोलीबाट डेब्यु गर्नुभएको थियो । जारी ‘ए’ डिभिजन लिगमा उहाँ मनाङ मस्र्याङ्दी क्लबको कप्तानसमेत हुनुहुन्छ । लिगको नवौँ चरणको समाप्तिसम्म टोली दोस्रो स्थानमा छ । लिगमा उहाँले चार गोल गरिसक्नुभएको छ ।

यस्तै उद्घाटन समारोहमा आयोजक खेल पत्रकार हिमेशरत्न बज्राचार्यलाई पनि सम्मान गरिएको थियो । दुई दशक बढी खेलकुद पत्रकारितासँग आबद्ध बज्राचार्यले आहा रारा गोल्डकपको २०औँ संस्करणसम्मको यात्राबारे पुस्तक प्रकाशनसमेत गर्नुभएको छ । आहा रारा गोल्डकपमा ‘ए’ डिभिजनका आठसहित १० टोलीको प्रतियोगितामा प्रतिस्पर्धा हुँदैछ । यसपटक प्रतियोगितामा

साबिक विजेता संकटा क्लबसहित लिगको शीर्ष स्थानमा रहेको मच्छिन्द्र फुटबल क्लब, दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब भिड्दैछन् । यस्तै अन्य टोलीमा सहारासँगै भुटानिज युथ स्पोर्ट्स क्लबले पनि खेल्दैछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख एक हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।