गौर:= भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले रौतहटको गौरमा आयोजित कार्यक्रममा आपत्तिजनक अभिव्यक्ति दिनुभएको छ । उहाँले हिंसा भड्काउने अभिव्यक्ति दिनुभएको हो । जनता समाजवादी पार्टीकी नेतासमेत रहनुभएकी यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई आफूहरूसँग टकराए मारिन सक्ने धम्की दिनुभएको छ ।
बलिदानी दिवस मनाउन गौर आउनुभएकी उहाँलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । अवरोध छिचोल्दै कार्यक्रममा पुग्नुभएकी उहाँले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिनुभएको हो । सिके राउतको सचिवालयले सार्वजनिक गरेको भिडियोमा मन्त्री यादवले हिन्दी भाषामा हिंसा भड्काउने अभिव्यक्ति दिँदै इतिहासलाई नभुल्न सिके राउतलाई चेतावनी दिनुभएको छ ।
तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले एकै ठाउँमा कार्यक्रम राखेपछि ०६३ चैत ७ गते रौतहटको गौरमा २८ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या भएको थियो । यो घटनालाई ‘गौर हत्याकाण्ड’ भनेर चिनिन्छ ।
विसं. २०६३ मा जारी भएको अन्तरिम संविधान जलाएर मधेश आन्दोलन थाल्नुभएका उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम आन्दोलनमा रहेकै बेला उक्त हत्याकाण्ड भएको थियो । यादवकै निर्देशनमा रौतहटमा उहाँका कार्यकर्ताले माओवादी कार्यकर्तालाई निर्मम हत्या गरेको तत्कालीन माओवादीले दाबी गरेको थियो ।
७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टाछुट्टै कार्यक्रम राखेका थिए । त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २७ कार्यकर्ताको हत्या भएको थियो । जसपा नेता एवं मन्त्री यादवले बिहीबारको सम्बोधनका क्रममा पटक-पटक राइस मिल घटना नबिर्सन आग्रह गर्नुभयो ।
‘राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर’ उहाँले भन्नुभयो, ‘लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।’ बलिदानी दिवसमा हिंसा नगर्ने भन्दै उहाँले अगाडि भन्नुभयो, ‘तुफानसँग टकराउने प्रयास ग¥यो भने तपाईंको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो ।
म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलून् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।’ उहाँले हिम्मत भए सिंहदरबार घेराउ गरेर देखाउनसमेत राउतलाई चुनौती दिनुभएको थियो ।
यता, सीके राउत नेतृत्वको जनमत पार्टीले गौर नरसंहारको जिम्मेवारी यादवले लिएको भन्दै खुलेआम हत्याको धम्की दिने मन्त्रीलाई अविलम्ब बर्खास्त गर्न माग गरेको छ । सो पार्टीका उपाध्यक्ष दिपककुमार साहले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै चरम अपराधिक अभिव्यक्ति दिने मन्त्रीलाई बर्खास्त गरी २०६३ सालको गौर नरसंहारमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गर्न माग गर्नुभएको छ ।
भौतिक पूर्वाधारमन्त्री यादव कार्यक्रममा जानुअघि सिके राउतका कार्यकर्ताले कालो झण्डा देखाएका थिए । मन्त्री जस्तो गरिमामय पदमा रहेको व्यक्तिको यस्तो अभिव्यक्ति गैरजिम्मेवार भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।




















