राष्ट्रियसभा निर्वाचन: एमाले र लोसपाबीच गठबन्धन, निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड जारी।

[ पुरन साह ] 

जनकपुरधाम:= आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ । बिहीबार जनकपुरधाममा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी एमाले र लोसपाले चुनावी गठबन्धनको घोषणा गरेको हो । सहमतिपत्रमा एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गर्नुभएको छ । दुवै दलले एमालेका उम्मेदवार उसमान अन्सारी र लोसपाकी उम्मेदवार रिता यादवलाई मतदान गरेर राष्ट्रियसभा सदस्यमा निर्वाचित गराउन आह्वान गरेका छन् । लोसपासँगको गठबन्धनपछि एमालेकी विना देवीले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

यी दुई दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ । कार्यक्रममा नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्नो पार्टी सरकारमा हुँदा मधेशको विकासको लागि काम गरेको बताउनुभयो । उहाँले लोसपासँग मिलेर काम गर्न पाउँदा खुसी लागेको बताउँदै सरकारमा मधेसी जनताको हक अधिकारको कुरा र एजेण्डा उठाउने बताउनुभयो । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनलले नेकपा एमालेसँग सहकार्य गरेर मधेशको भावनाको, उत्पीडनमा परेका मानिसहरूको, आदिवासी, दलित, जनजाति, मधेसी, महिला, मुस्लिम, थारूहरूको भनाइ सरकारमा लैजाने बताउनुभयो । उहाँले एउटा धारणाअनुसार सरकार सञ्चालन हुनुपर्ने पनि बताउनुभयो ।

राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशका जनताको चाहना र भावनालाई मध्यनजर गर्दै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच सहमति भएको बताइएको छ । सहमतिअनुसार अन्यतर्फ नेकपा एमालेका उम्मेदवार उसमान अंसारी (सूर्य छाप) र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार रुपा कुमारी यादव (साइकल छाप)लाई मतदान गर्न राष्ट्रियसभाका मतदातासँग अपिल गरिएको छ । गठबन्धन घोषणा कार्यक्रममा नेकपा एमालेका सचिव रघुवीर महासेठ र पोलिटब्युरो सदस्यद्वय जुली महतो तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठलयागत नेताहरूको उपस्थिति थियो ।

राष्ट्रियसभा सदस्य चुनावका लागि मधेश प्रदेशमा दुई पदमा चार दलबाट ६ जनाको उम्मेदवारी परेको छ । चुनावी प्रतिस्पर्धाका लागि सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) र जसपाले एक÷एकजना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा नेकपा एमालेबाट दुई/दुई जनाले मनोनयन दर्ता गराएका थिए ।

सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले महिला कोटामा उम्मेदवारी दिनुभएको छ । यस्तै, जसपाबाट अन्य समूह कोटामा सिरहाका मोहम्मद खालिद सिद्धिकीले मनोनयन दर्ता गराउनुभएको छ भने लोसपाबाट महोत्तरीकी रूपा यादवले महिला कोटामा उम्मेदवारी दिनुभएको छ । त्यस्तै, नेकपा एमालेको तर्फबाट महिला कोटामा रौतहटकी बिना देवी र अन्य समूहबाट पर्साका उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मधेश प्रदेशमा स्थानीय तहबाट २६८ मतदाता छन् भने प्रदेशसभा तर्फबाट १०४ जना छन् । यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा कांग्रेसको दुई हजार २६२ मतभार, माओवादी केन्द्रको एक हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको दुई हजार ९८८, लोसपाको एक हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र दुई पालिकाबाट स्वतन्त्र ३६ मत छ । फोरम लोकतान्त्रिक कांग्रेसमा आइसकेकाले कांग्रेससँग अब दुई हजार ३७० मतभार रहेको छ । राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशिकला दाहालको समयअवधि समाप्त भएपछि चुनाव हुन लागेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड जारी

निर्वाचन आयोगले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएको विद्यमान अवस्थालाई मध्यनजर गरेर निर्वाचन आयोगले स्वास्थ्य सुरक्षा मापदण्ड तय गरेको हो । बिहीबार प्रेस विज्ञप्ति जारी गरी आयोगले मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी र स्वयंसेवक लगायतलाई लक्षित गरेर २० बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागू गर्नुपर्ने भन्दै निर्देशन जारी गरेको हो ।

मापदण्डअनुसार कोरोना संक्रमण पुष्टि भएका मतदाताहरूलाई प्राथिमकताका साथ छुट्टै लाइनमा राखेर अन्य मतदानको व्यवस्था गरिएको छ । कोरोना संक्रमितहरूले पन्जा, मास्क र फेस सिल्डको प्रयोग अनिवार्य गरेर मतदान गर्न पाउने आयोगले जनाएको छ । संक्रमितहरूले मतदान गर्दा मतदानको कार्य केही समयका लागि स्थगित गरेर उनीहरूलाई मतदान गर्न दिने व्यवस्था मिलाइएको आयोगले जारी गरेको निर्देशनमा उल्लेख छ । संक्रमितहरूले प्रयोग गरेका मतदान स्थलमा सामग्रीहरू निःसंक्रमण गरी पुनः नियमित मतदानको कार्य सुचारु गर्ने व्यवस्था मिलाउनुपर्ने सूचनामा उल्लेख छ ।

मतदानमा सहभागी हुनका लागि पूर्ण खोप लगाएको हुनुपर्ने मापदण्ड बनाइएको छ । मतदानस्थल मास्क अनिवार्य गरिएको छ । मतदानस्थलमा तापक्रम मापन गर्ने र दुईजना स्वास्थ्यकर्मी रहेको हेल्थ डेस्कको व्यवस्था गर्नुपर्ने उल्लेख छ । मतदानस्थलमा सामाजिक दूरी अनिवार्य गरिएको छ । स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गरिएको छ । मतदान सामग्रीहरूको अनिवार्य रूपमा निःसंक्रमण गर्नेुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड तय गरिएको छ । यस्तै, भौतिक दूरी कायम गर्न, अनावश्यक भिडभाड हुन नदिन, मतदानस्थलमा अनिवार्य रूपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्सको व्यवस्था गर्न पनि आयोगले निर्देशन दिएको छ ।