भन्छन्- ‘डिभीले आस देखाएर निराश मात्र बनायो’
काठमाडौं:= सन् २०२२ का लागि गत मे ८ मा डाइभर्सिटी भिसा (डिभी) लोटरीको नतिजा सार्वजनिक गरिएको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुसार आर्थिक वर्ष सन् २०२२ का लागि तीन हजार ८०२ जना नेपालीहरू डिभी लोटरी विजेता भएका थिए । जुन एसियामा नै दोस्रो हो । एसियामा सबैभन्दा धेरै इरानमा पाँच हजार ७३९ जना डिभी विजेता भएका थिए ।
२०२२ का डिभी विजेताहरूको अक्टोबर १, २०२१ देखि प्रक्रिया सुरु भई अमेरिकाको भिसा पाउने प्रावधान रहे तापनि कोही पनि नेपाली डिभी विजेताहरूलाई अक्टोबर महिनामा अमेरिकी दूतावासले भिसा नदिएको खुलासा भएको छ । त्यसपछि पनि डिसेम्बर र हाल जनवरी २०२२ सम्म आइपुग्दा पनि भिसा त कुरै छोडाँै, दूतावासले डिभीको प्रक्रियासम्म सुरु गर्न चासो नदेखाएको डिभी विजेताहरूको गुनासो छ ।
अक्टोबरमा ४५० जना नेपालीहरूलाई आप्रवासी भिसा दिइए पनि डिभी विजेता भने कसैले पनि दूतावासले भिसा प्रदान गरेन । त्यस्तै, नोभेम्बरमा ४८७ जनालाई काठमाडौंमा रहेको अमेरिकी दूतावासले आप्रवासी भिसा जारी गरे पनि डिभी विजेताहरूलाई भने भिसा प्रदान गरिएन । २०२२ का डिभी विजेताहरूले आगामी सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नु पर्ने प्रावधान रहेको छ । अदालतले विदेश मन्त्रालयबाट लागू भिसाको प्राथमिकता खारेज गरे पनि दूतावासले भने भिसा जारी गर्नमा देखाएको उदासीनताका कारण डिभी विजेताहरू निराश भएका छन् ।
डिभी भरेका विश्वका सबै देशहरूबाट बढीमा ५५ हजार विजेताहरूले अमेरिकाको भिसा पाउन सक्ने प्राावधान भए तापनि परिवारसहित गर्दा एक लाख १९ हजार २१ जना सन् २०२२ को डिभी विजेता भएका थिए । उनीहरूमध्ये अत्यधिक अयोग्य हुनसक्ने भएकाले अमेरिकाले भिसा दिने कोटाभन्दा धेरैलाई डिभी पार्दै आएको छ । सन् २०२२ का लागि कुल ७३ लाख ३६ हजार ३०२ जनाले डिभी भरेका थिए । आफन्तहरू सहित सन् २०२२ को डिभीमा सहभागी हुनेहरू विश्वभरबाट कुल एक करोड ३१ लाख ९१ हजार २९६ जना रहेका थिए ।
अन्य युरोपेली, अफ्रिकी मुलुकहरूमा धेरै संख्यामा डिभी भिसाको अन्तर्वार्ता भई अधिकांशले भिसा प्राप्त गरिरहेको अवस्थामा नेपालस्थित अमेरिकी दूतावासले कुनै चासो नदेखाएकाले अधिकांश डिभी विजेताहरू अन्योलमा परेका हुन् । साथै ट्वीटरको माध्यमबाट एम्बेसीलाई दबाब दिइरहँदा पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको उनीहरूले बताएका छन् । जीवनकै एक अमूल्य अवसर गुम्दै गरेको देख्दा विजेताहरू तनाव अवस्थामा छन् । एक विजेताले हामीसँग कुरा गर्दै भन्नुहुन्छ, ‘डिभीले आस मात्र देखाएर निराश मात्र बनायो, जिन्दगी आफ्नो योजनाअनुसार चलिरहेको थियो, डिभी परेर झन् अन्योल मात्र बनायो । हामी दूतावासलाई बिन्ती गर्न चाहन्छौँ, हाम्रो प्रक्रिया अगाडि बढाइदिएर हाम्रो जिन्दगीको अमूल्य अवसरलाई बचाइ दिनुहोस् ।’
चाँडोभन्दा चाँडो अन्तर्वार्ताको प्रक्रियामा अगाडि बढे मात्र सम्पूर्ण नेपाली विजेताहरूले भिसा पाउन सफल हुनेछन् नत्र अमेरिकी सपना सपना मात्र हुने देखिन्छ । त्यसैले विजेताहरूमा विद्यमान मानसिक तनाव, अन्योलता र चिन्ताप्रति नेपाली दूतावास अवगत भई डिभीका कार्य चाँडोभन्दा चाँडो अगाडि बढाउनुपर्छ ।




















