प्रधानमन्त्री कप टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई।

काठमाडौं:= प्रधानमन्त्री कप टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) ले जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको अन्तिम खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

यस जितसँगै एपिएफले पाँच लाख प्राप्त गरेको छ । त्यस्तै, दोस्रो स्थान हासिल गरेको पुलिसले भने तीन लाख प्राप्त ग¥यो । एपिएफले पुलिसलाई जितका लागि १५८ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा पुलिसले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३६ रनमा समेटियो । पुलिसका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६५ रनको योगदान गर्नुभए तापनि त्यो जितका लागि पर्याप्त भएन । ५४ बल खेल्नुभएका दीपेन्द्रले तीन चौका र दुई छक्काको मद्दतमा ६५ रनको योगदान दिनुभएको थियो ।

त्यसैगरी, दिलीप नाथले २३, आरिफ शेखले १२ तथा अनिल साहले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन । गुल्सन झाले ५, रासिद खानले ४, अमृत श्रेष्ठले ३ तथा योगेन्द्र सिंह कार्कीले एक रन थप्नुभयो ।

एपिएफका किशोर महतोले तीन विकेट लिनुभयो भने अविनाश बोहोरा, अमर रौटेला र दीपक बोहराले समान एक/एक विकेट हात पार्नुभयो । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको एपिएफले १९ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल बनायो । एपिएफका अमर रौटेलाले सर्वाधिक २९ रनको योगदान दिनुभयो । उहाँले १५ बलमा ३ छक्का र २ चौका प्रहार गर्नुभयो ।

यस्तै, लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाउनुभयो । कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट हुनुभयो । भुवन कार्कीले १७ रन जोड्नुभयो । आसिफ शेखले ९, प्रदीप ऐरीले ७, दीपक बोहराले ६ रन तथा पुरण विक शून्य रनमा आउट हुनुभयो । त्यस्तै, किशोर महतो ८ रनमा आउट हुँदा अविनाश बोहरा १ रनमा अविजित रहनुभयो । बलिङतर्फ पुलिसका दीपेन्द्र सिंह ऐरी र सागर ढकालले समान तीन÷तीन विकेट लिनुभयो भने गुलशन झाले २ विकेट लिनुभयो  । त्यस्तै, आरिफ शेख र योगेन्द्रसिंह कार्कीले समान एक÷एक विकेट झार्नुभयो ।

सेमिफाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो भने पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । गत पुस २६ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी दश टोलीको सहभागिता थियो ।

नेपाल एपिएफ क्लबका ओपनर आसिफ शेख प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो । एपिएफलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गर्नुभएका आसिफ प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिँदा लुम्बिनी प्रदेशका स्पिनर अनिल खरेल उत्कृष्ट बलर चुनिनुभयो । प्रतियोगिताको उत्कृष्ट ब्याटर नेपाल पुलिस क्लबका कुशल भुर्तेल चुनिनुभयो ।

आसिफले सर्वोत्कृष्ट खेलाडीबापत ३० हजार प्राप्त गर्नुभयो । उत्कृष्ट बलर अनिल खरेलले चार खेलमा १० विकेट लिनुभयो । अनिलले २० हजार प्राप्त गर्नुभयो । कुशल भुर्तेलले चार खेलमा १४३ को स्ट्राइक रेटमा १८२ रन बनाउनुभएको थियो ।