काठमाडौं:= बुधबार पनि सेयर बजार घटेको छ । सेयर कारोबार मापक नेप्से सूचक ३८.३५ अंकले घटेको हो । अघिल्लो दिन मंगलबार पनि नेप्से १०.७८ अंकले घटेर २९३६.६६ अंकमा खुम्चिन पुगेको थियो ।
बुधबार सेयर सूचक २८९८.३१ अंकमा पुगेर बन्द भएको थियो भने ठूला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स पनि १.४३ अंकले घटेर ५३९.६५ अंकमा झरेको थियो । कुल दुई सय २८ कम्पनीको एक करोड १८ लाख ३७ हजार दुई सय १५ कित्ता सेयर छ अर्ब दुई करोड १३ लाख ११ हजार आठ सय ८१ रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार कुल दुई सय २४ कम्पनीका एक करोड ६० लाख चार हजार पाँच सय ३० कित्ता सेयर आठ अर्ब ४४ करोडमा कारोबार भएको थियो । कारोबारमा आएका कुल १३ समूहमध्ये सबैको सूचक घटेको नेप्सेले जनाएको छ । एक सय ९१ कम्पनीको सेयरमूल्य घटेको छ भने २८ कम्पनीको मात्रै बढेको छ ।
अपि पावर कम्पनीको सर्वाधिक २० करोड ३२ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको २०.०७ करोड, एचआइडिसिएल १५.३१ करोड, अपर तामाकोशी १५.२१ करोड र सूर्या लाइफको १४.०१ करोडको सेयर कारोबार भएको छ ।
बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर २८७.८० रुपैयाँ पुगेको छ । घलेम्दी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ४.३४ प्रतिशतले घटेर तीन सय ५३ रुपैयाँमा झरेको छ भने कालिका लघुवित्त र ग्लोबल आइएमई समुन्नत स्किम १ को इकाईमूल्य पनि घटेको छ । एचआइडिसिएलको सबैभन्दा धेरै कित्ता चार लाख ७३ हजार कित्ता, सेञ्चुरी बैंकको चार लाख ४३ हजार कित्ता सेयर कारोबार भएको छ ।




















