न्यूयोर्क:= रूसले युक्रेनमाथि ‘फल्स फल्याग’ अपरेसनको तयारी गरेको अमेरिकाले दाबी गरेको छ । युक्रेनमाथि आक्रमणको बहाना सिर्जना गर्नका लागि रूसले उत्तेजक कार्यको षड्यन्त्र गरिरहेको अमेरिकाले आरोप लगाएको हो ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ताले ‘फल्स फल्याग’ अपरेसनको तयारी रूसले गरेको बताएका छन् । युक्रेनलाई उत्तेजित बनाएर आक्रमणको बहाना खोज्नका लागि रूसले गलत मनसायले भड्काउ गतिविधिको तयारी गरेको अमेरिकी आरोप छ । रूसले भने अमेरिकी आरोप खारेज गरेको छ ।
पेन्टागनका प्रवक्ता जोन किर्बीले रूसले युक्रेनलाई भड्काएर आक्रमणको बहाना बनाउन नियोजित आक्रमणको तयारीका लागि एक समूह नै बनाएको आरोप लगाउनुभएको हो । युक्रेनको विषयलाई लिएर सघन बनेको तनाव कम गर्न अमेरिका र रूसबीच पछिल्लो एक हप्तायता विभिन्न वार्ता भएका छन् । तर, त्यसबाट नतिजा भने निस्कन सकेको छैन ।
युक्रेनका एक दर्जनभन्दा बढी आधिकारिक वेबसाइटमा भएको साइबर आक्रमणमा रुसको संलग्नता रहेको युक्रेनका अधिकारीले शुक्रबार आरोप लगाएका थिए । आधिकारिक वेबसाइटहरू अफलाइन भएको र युक्रेनीहरूलाई खराब अवस्थाका लागि तयार रहन चेतावनी दिइएको थियो ।
अमेरिका र नेटोले साइबर आक्रमणको निन्दा गर्दै युक्रेनको साथमा रहेको बताएका छन् । साइबर आक्रमणका सम्बन्धमा भने रूसले कुनै टिप्पणी गरेको छैन । पछिल्लो समय रुसले युक्रेनसँगको सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ । अमेरिकासहित पश्चिमा देशले यसलाई युक्रेनमाथि रूसी आक्रमणको तयारी भनेका छन् । तर, रूसले भने आक्रमणको कुनै योजना नरहेको दाबी गर्दै आएको छ ।




















