राष्ट्रिय बास्केटबल लिगको घोषणा।

काठमाडौं:= टर्नपाइक इभेन्ट प्रालि र नेपाल बास्केटबल संघको साझेदारीमा राष्ट्रिय बास्केटबल लिग हुने भएको छ । आगामी वैशाखमा आयोजनाको प्रस्ताव गरिएको लिगको बिहीबार काठमाडौंमा एक पत्रकार सम्मेलनका बीच घोषणा गरिएको हो।

नेपालमा पहिलोपटक हुन लागेको बास्केटबलमा आठवटा फ्रेन्चाइज क्लबहरूले प्रतिस्पर्धा गर्ने आयोजक टर्नपाइक इभेन्टका निर्देशक आलोकप्रताप राणाले जानकारी दिनुभयो । उहाँका अनुसार लिगमा काठमाडौं, ललितपुर, कीर्तिपुर, पोखरा, भक्तपुर, धरान, विराटनगर, चितवन र बुटवल/धनगढीका शहरहरूको प्रतिनिधित्व गर्दै फ्रेन्चाइज टोली हुनेछन् ।

टोलीमा नेपाली मूलका १० खेलाडी, दुई अन्तर्राष्ट्रिय खेलाडी, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र क्लब व्यवस्थापक रहनेछन् । लिगका खेलहरू दशरथ रंगशालास्थित बहुद्देश्यीय कभर्डहलमा हुने आयोजकले जनाएको छ । कोरोना महामारीका कारण लिगको मिति भने तय भइनसकेको आयोजकले जनाएको छ ।

‘अब खेल खेलमात्रै रहेन । खेलमा दिगोपन ल्याउनका लागि कर्पोरेट हाउसहरूलाई पनि जोड्नु आवश्यक छ,’ इभेन्टका निर्देशक राणाले भन्नुभयो, ‘लिगले ग्ल्यामर, इन्टरटेनमेन्ट थपेर खेलकुदलाई व्यावसायिक बनाउन मद्दत गर्नेछ ।’

टर्नपाइक इभेन्टको स्वामित्वमा रहने लिगको प्राविधिक पाटो नेपाल बास्केटबल संघले हेर्ने भएको छ । संघलाई लिगका क्लबहरूसँग लिइने लाइसेन्स फिबापतको रकमको ४० प्रतिशत टर्नपाइकले उपलब्ध गराउने सम्झौतासमेत भएको छ । बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले नेपाली बास्केटबललाई थप उचाइमा पुर्‍याउन लिगले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

‘नेपाली बास्केटबललाई थप उचाइमा पुर्‍याउन लिग कोशेढुंगा बन्ने विश्वास लिएको छु,’ उहाँले भन्नुभयो, ‘टर्नपाइकसँग अनुभवी र दक्ष टिम भएकाले यो लिग नेपाली बास्केटबलमा ऐतिहासिक बन्नेछ ।’ नेपाल बास्केटबल संघले लिगलाई उच्च श्रेणीको लिगको संज्ञा दिइने सम्झौता भएको छ ।

राष्ट्रिय बास्केटबल लिगको खेल सञ्चालनका प्राविधिक पक्षको जिम्मा नेपाल बास्केटबल संघले लिएको छ । नेपाल बास्केटबल संघले यस लिगलाई मध्यनजर गर्दै पेशेवर खेलाडी र प्रशिक्षकको दर्ता गर्नेछ । खेलाडीहरूलाई दुई तहमा विभाजन गरी दर्ता गर्नेछ । ‘क’ वर्ग र ‘ख’ वर्गमा विभाजन गरिनेछ ।

राष्ट्रिय बास्केटबल लिगको खेलाडीका खेलहरूको मूल्यांकन गरी नयाँ राष्ट्रिय बास्केटबल टोलीको पनि छनोट गरिने संघले जनाएको छ । राष्ट्रिय बास्केटबल टोलीका उपकप्तान विनोद महर्जनले लिग घोषणा हुँदा उत्साह व्यक्त गर्नुभयो । उहाँले लिगको निरन्तरताको शुभकामना दिनुभयो ।

‘धेरै पहिलेदेखि लिग गर्ने सुनेका थियौँ । अहिले सुरु हुने हुँदा खुशी लागेको छ,’ उहाँले भन्नुभयो, ‘यस लिगले खेलाडीको प्यासनलाई आर्थिक सपोर्ट गर्ने विश्वास लिएका छौँ । प्रतियोगिता आयोजनाको शुभकामना दिन चाहन्छु । यसले काठमाडौंमात्रै नभएर देशभरिका खेलाडीलाई समेट्नेसमेत विश्वास लिएको छु ।’