‘बलिउड ठूलो इन्डस्ट्रि भएकाले मार्क हुन कठिन हुन्छ’: विपिन कार्की।

काठमाडौं:= जो कोही नेपाली कलाकारलाई बलिउड जस्तो ठूलो क्षेत्रमा काम गर्ने इच्छा पक्कै हुन्छ । कतिपय कलाकारहरू बलिउडमा पुगेर काम पनि गर्नुभएको छ । कतिपयले राम्रो छाप छाड्नुभएको छ भने कतिपय गएको र आएको पत्तो हुँदैन ।

यसैबीच नेपालमा आफ्नो अभिनयबाट छुट्टै पहिचान बनाउनुभएको अभिनेता विपिन कार्कीलाई बलिउड चलचित्रबाट अफर आएको छ । नेपालमा दर्शकसँगै समीक्षकबाट पनि निकै राम्रो प्रतिक्रिया पाउनुभएका विपिनलाई बलिउड चलचित्र ‘एनिमल’मा काम गर्ने अफर आएको हो । ‘एनिमल’मा रनवीर कपुर, अनिल कपुर, बबी देओल र परिणीति चोपडाले अभिनय गरिरहनु भएको छ भने विपिनले पनि अनिल कपुर र रणवीर कपुरसँग स्क्रिन शेयर गर्ने मौका पाउनुहुनेछ ।

अभिनेता विपिनलाई निर्माण टिममध्येका एक प्रणय रेड्डीले सिधै फोन गरेर चलचित्रका लागि अफर गर्नुभएको थियो । अभिनेता विपिनले आफूले मेरो रोल केहो भनेर सोधेको तर उताबाट तपाइँको चलचित्र हेरेको छु, अडिशन नलिई सिधै काष्ट गर्न खोजेका हौं भन्ने जवाफ आएको बताउनुभएको छ । विपिनका अनुसार प्रणयले भन्नुभएको थियो, ‘म यति भन्छु, यो चलचित्रमा तपाइँलाई राम्रो रोल छ । तपाइँले काम देखाउने प्रशस्त ठाउँ छ ।’ विपिनले नेपाली चलचित्र ‘सेल्फी किङ’मा गरेको कामका आधारमा बलिउडको निर्माण टिमले उहालाई सिधै चलचित्रमा अभिनय गर्ने अवसर दिन खोजेको बताइएको छ ।

विपिनले भन्नुभएको छ, ‘डेब्यु गर्न प्रशस्त ठाउँ छ । मार्केबल रोल छ भनेपछि राम्रो रोल होला भन्ने विश्वास लिएको छु । तर, रोल यो र यही हो भनेका छैनन् । पहिलोपटक संवाद भएकाले मैले स्क्रिप्ट चाहिन्छ नै भनेको छैन । तर, अब कुरा हुँदा स्क्रिप्टका लागि रिक्वेस्ट गर्छु । स्क्रिप्ट पाएको खण्डमा चरित्र निर्माणको काम गर्न सहज हुने थियो ।’ उहाँले बलिउडमा आफू मार्क हुन कठिन हुने भएकाले धेरै उत्साहितसँगै डर पनि लागेको बताउनुभएको छ । विपिनले भन्नुभएको छ, ‘बलिउड ठूलो इन्डस्ट्रि भएकाले मार्क हुन कठिन हुन्छ ।’

सन्दीप रेड्डी भांगाको निर्देशन रहने यस चलचित्रमा रणवीर कपुरको मुख्य भूमिका छ । अहिले चलचित्रको दोस्रो सेड्युलको सुटिङ चलिरहेको छ । आगामी ११ अगस्ट २०२३ मा चलचित्रको रिलिज मिति तय भएको छ । यसअघि निर्देशक सन्दीपले ‘अर्जुन रेड्डी’को हिन्दी भर्सन ‘कवीर सिंह’को निर्देशन गरिसक्नुभएको छ ।