दूधको मूल्य १० रुपैयाँ बढाउने तयारी।

काठमाडौं:= राष्ट्रिय दुग्ध विकास बोर्डले प्रशोधित दूधको मूल्य १० रुपैयाँ वृद्धि गरी ८६ रुपैयाँ कायम गर्न प्रस्ताव गरेको छ । बोर्डले गठन गरेको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदनअनुसार प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी ८६ रुपैयाँ कायम गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई प्रस्ताव गरेको हो ।

उपभोक्ता मूल्य ७६ रुपैयाँ प्रतिलिटरमा १० रुपैयाँ वृद्धि गरी सात रुपैयाँ प्रतिलिटर कृषक र तीन रुपैयाँ प्रतिलिटर उद्योगीले पाउने गरी मूल्य समायोेजन गर्नुपर्ने समितिको प्रस्ताव छ । समितिले किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७.१४ रुपैयाँ देखाएको छ ।

जसमा २.३६ पैसा मुनाफासहित प्रतिलिटर ६० रुपैयाँ ५० पैसा कायम गरिएको छ भने प्रशोधन लागत प्रतिलिटर ३० रुपैयाँ ५० पैसा कायम गरिएको छ । विगत दुई वर्षमा गाईभैँसी खरिद मूल्यमा करिब ४० प्रतिशत, पशुपन्छी आहार १७ प्रतिशत, इन्धन १९ प्रतिशत, विदेशी विनिमयदर सात प्रतिशत, श्रमिकको पारिश्रमिक १०.३३ प्रतिशत, बैंकको व्याजदर ३.३ प्रतिशत र उत्पादित वस्तुको मुद्रास्फीति करिब १० प्रतिशतले वृद्धिका आधारमा मूल्य सिफारिस गरिएको बोर्डले जनाएको छ ।

आव २०६७÷०६८ मा दूधको मूल्य प्रतिलिटर ४८ रुपैयाँ रहेकोमा २०६९ फागुनमा प्रतिलिटर ५० रुपैयाँ कायम गरिएको थियो । २०७० फागुनमै प्रतिलिटर ५६ रुपैयाँ, २०७१ पुसमा प्रतिलिटर ६४ रुपैयाँ, २०७४ भदौमा प्रतिलिटर ७० रुपैयाँ र २०७६ भदौमा ७६ रुपैयाँ कायम गरिएको थियो ।

दूधको मूल्य निर्धारण गर्दा कच्चा दूधको मूल्य चार प्रतिशत चिल्लो र आठ प्रतिशत एसएनएफका आधारमा र उपभोक्ता मूल्य तीन प्रतिशत चिल्लो र आठ प्रतिशत एसएनएफका आधारमा निर्धारण गर्ने प्रचलन रहेको छ । नेपालमा वार्षिक कुल दूध उत्पादन २३ लाख एक हजार मेट्रिकटन पुगेको छ । कुल दूध उत्पादनको ४० प्रतिशत गाईबाट र ६० प्रतिशत भैँसीबाट उत्पादन हुन्छ । गाईले औसतमा प्रतिबेत सात सय ८९ लिटर र भैँसीले आठ सय ४४ लिटर दूध दिने पशुुसेवा विभागको तथ्यांक छ ।