बंगलादेशमा कोभिड-१९ बाट बच्न नयाँ निर्देशन जारी।

ढाका:= बंगलादेशमा पछिल्ला केही हप्तामा कोभिड-१९को संक्रमण बढेपछि यसबाट बच्न नयाँ निर्देशन जारी गरिएको छ । ती ११ बुँदे निर्देशन जारी गरिएको र पालना नगर्ने नागरिकलाई कानुनी कारबाही गरिने बताइएको छ । यी निर्देशनहरू मास्कको प्रयोग गर्नेदेखि सार्वजनिक स्थलमा जम्मा हुन नपाइनेसम्मका रहेका छन् । यहाँ सार्वजनिक स्थलमा जम्मा हुँदा तथा पसल, मलहरूमा उपस्थित हुँदा मास्क अनिवार्य गरिएको छ ।

मास्क नलगाई कुनै व्यक्ति सार्वजनिक स्थलमा गएको पाइएमा उसलाई कानुनी कारबाही गरिनेछ । त्यस्तै सभासमारोह बन्द गरिएको छ भने रेल तथा सार्वजनिक यातायात सेवाले उसको क्षमताको आधामात्र यात्रु राखेर सञ्चालन गर्नुपर्ने प्रावधान राखिएको छ । त्यस्तै होटल, रेष्टुरेन्टहरू रातिसम्म खोल्न नपाइने र उनीहरूले यात्रुलाई सेवा दिँदा आधामात्र क्षमताका नागरिकलाई मात्र दिन सकिने बनाइएको छ । यहाँको मन्त्रिपरिषद्को सोमबारको बैठकले कोभिडबाट बच्न भन्दै यस्ता कडा कानुन लागू गरेको हो ।

त्यस्तै होटल रेष्टुरेन्टमा खान तथा होटलमा बास बस्न र कुनै हवाई जाहाजबाट यात्रा गर्दा उनीहरूले खोप कार्ड अनिवार्य देखाउनुपर्ने नियम बनाइएको छ । बंगलादेशमा पनि पछिल्ला केही हप्तायता कोरोना भाइरस र यसको घातक भनिएको ओमिक्रोन भाइरसको संक्रमण निकै बढेको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।