नेपाल गोजु काई कराँते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराँते प्रतियोगिता सुरु।

काठमाडौं:= नेपाल गोजु काई कराँते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराँते प्रतियोगिता काठमाडौंमा सुरु भएको छ । दुईदिने प्रतियोगिताको पहिलो दिन मंगलबार पुरुषतर्फ पाँच र महिलातर्फ दुई स्वर्णको छिनोफानो भएको छ ।

प्रतियोगितामा महिला र पुरुषको १०/१० तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ । २० जिल्ला तथा डोजोहरूबाट २०९ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । कातातर्फ पनि पुरुष र महिलामा प्रतिस्पर्धा हुनेछ । यसपल्ट भेट्रान्स प्रतियोगिता पनि समावेश गरिएको छ । शारीरिकरूपमा फिट रहेका ४० वर्ष नाघेका खेलाडीहरूका लागि यो विधा थपिएको आयोजक संघका उपाध्यक्षसमेत रहनुभएका प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जानकारी दिनुभयो ।

चाबहिल चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा आयोजित प्रतियोगिताको पुरुष ३० केजीमुनि तौलसमूहमा आयुश राई (आनन्दनगर डोजो) ले स्वर्ण जित्नुभयो । उहाँले फाइनलमा सोनाम तामाङ (मित्रपार्क डोजो) लाई पराजित गर्नुभयो । ३५ केजीमुनि अविजित पहारी (नागार्जुन डोजो) लाई हराएर अनायन मानन्धर (ठैव डोजो) ले स्वर्ण जित्नुभयो ।

पुरुष ४० केजीमुनि रोजन तामाङ (शंखडोल एकेडेमी) ले स्वर्ण जित्दा अन्मेष थेवे (मित्रपार्क डोजो) रजतमा सीमित हुनुभयो । ४५ केजीमा विकेश मोक्तान (जोरपाटी डोजो) ले स्वर्ण जित्नुभयो । उहाँले फाइनलमा सुनिल ठगुन्ना (साउथ भ्याली स्कुल) लाई हराउनुभयो । ५० केजीमा विनोद श्रेष्ठ (मानसिंह डोजो) ले स्वर्ण तथा मिलन तामाङ (नेपाल हायसी-हा कराँते) ले रजतमा चित्त बुझाउनुभयो ।

महिलातर्फ ३० केजीमा अनु मोक्तान (मानसिंह डोजो) ले स्वर्ण जित्दा विलाशा पहारी (नागार्जुन डोजो) रजतमा सीमित हुनुभयो । ३५ केजीमा अस्मिता मोक्तान (आनन्दनगर डोजो) ले स्वर्ण र कुन्साङ राई (मित्रपार्क डोजो) ले कास्य जित्नुभयो ।

यसअघि प्रतियोगिताको उद्घाटन काठमाडौं महागरपालिका वडा नम्बर ७ का अध्यक्ष शुद्धकुमार डंगोलले गर्नुभएको थियो । वल्र्ड युनाइटेड मार्सल आर्ट (उमा) अन्तर्गत रहेको गोजु काई कराँतेको वार्षिक कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगितालाई काठमाडौं महानगरपालिकाले प्रायोजन गरेको हो ।