नेपाली दर्शकको माया देखेर दंग भारतीय गायिका असीस कौर।

काठमाडौं:= पाँच दिनअघिमात्रै (पुस २३) काठमाडौं आएर आफ्नो प्रस्तुति दिनुभएकी भारतीय गायिका असिस कौर नेपाली दर्शकको माया देखेर दंग पर्नुभएको छ । राति क्लब प्लेटिनममा आफ्ना दर्जनौं लोकप्रिय गीत गाएर दर्शक झुमाउनु भएकी गायिका असिसले नेपाली दर्शकबाट आफूले सोचभन्दा राम्रो साथ पाएको बताउनुभयो ।

एक टेलिभिजनको अन्तर्वार्ताको क्रममा गायिका असिसले आफूले प्रस्तुति दिँदै गर्दा उपस्थित नेपाली दर्शकले सँगै गाएको देख्दा र गीतको शब्द–शब्द कण्ठ भएको देख्दा आफूलाई अचम्म लागेको बताउनुभयो । ‘मैले यतिधेरै माया दिनुहुन्छ भन्ने सोचेकी थिइन । जब मैले गीत गाइरहेकी थिएँ, दर्शकले पनि म सँगै गाउनुभएको थियो’, गायिका असिसले भन्नुभएको छ, ‘यो साथ देख्दा फेरि पनि नेपाल आउनुपर्छ भन्ने लागेको छ । आउनेछु ।’

असिसले आफू नेपाल आएको समयमा विभिन्न ठाउँमा घुम्ने सोंच बनाएको तर आफ्नो समय व्यस्तताले घुम्न नपाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मैले बिहानै पशुपतिनाथको मन्दिर दर्शन गरेर बाँकी काम गर्छु भनेकी थिएँ तर समयले साथ दिएन ।’ आफू नेपाल आउनुभन्दा अघि नेपालको घुम्ने ठाउँ कुन–कुन छ भनेर इन्टरनेटमा खोजेको र सुरुमै पोखरा भेटिएकाले पोखरा घुम्ने रहर जागेको बताउनुभएको छ ।

यस्तै गायिका असिसले नेपाली गीत पनि गाउने इच्छा रहेको बताउनुभएको छ । नेपाली दर्शकले आफूलाई दिएको मायाका कारण नेपाली गीत गाउनुपर्छ भन्ने लागेको उहाँको भनाइ थियो। उहाँ भन्नुहुन्छ, ‘नेपाली दर्शकले यतिधेरै माया दिनुभएको छ कि, भविष्यमा नेपाली गीत पनि गाउछु भन्ने लागेको छ ।’ असिस भारत फर्किसक्नुभएको छ ।

३३ वर्षीय असिसका ‘जान निसार, बेमाही, लाइदोबा, बारिस, बन्देया, सपना, जुदा’लगायत दर्जनौं गीत हिट छन् । असिसले गाएको ‘राता लम्बिया’बोलको गीत नेपालमा पनि अत्यधिक हिट छ ।