सेयर बजारमा ५० अंकको वृद्धि।

काठमाडौं := साताको सुरुदेखि नै बढ्दोक्रममा रहेको सेयर बजार मंगलबार ५० अंकले बढेको छ । मंगलबार नेप्से १.७७ प्रतिशत अर्थात् ४९.१५ अंकले बढेर २८३४.१३ अंकमा पुगेको हो । ठूला कम्पनीहरूको सेयर सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ६.३४ अंकले बढेर ५२८.८८ अंकमा पुगेको छ । पछिल्ला तीन दिनमा नेप्से एक सय ४१ अंकले बढेको छ । आइतबार ७३, सोमबार १९ र मंगलबार ४९ अंकले बढेको हो ।

यस दिन कुल दुई सय ३२ कम्पनीको एक करोड १९ लाख ७० हजार दुई सय १५ कित्ता सेयर छ अर्ब ७२ करोड ४५ लाख २६ हजार एक सय ९७ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ६.१५ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको सूचक ०.४३ प्रतिशतले घटेको छ । तर, कारोबारमा आएका १३ वटै समूहका सूचक बढेका छन् । लघुवित्त ३.९९०, जीवन बिमा ३.८९, विकास बैंक ३.४४, होटल ३.३९, निर्जीवन बिमा २.६५, जलविद्युत् २.०७ र अन्य १.४४ प्रतिशतले बढेको छ ।

आठ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशत तथा सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर र मितेरी डेभलपमेन्ट बैंकको नौ प्रतिशतभन्दा बढीले सेयरमूल्य बढेको छ । तर, माउन्टेन इनर्जी नेपालको सेयरमूल्य भने सबैभन्दा धेरै ३.५२ प्रतिशतले घटेको छ ।