काठमाडौं:= नेपालमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो दुई दिनमा दोब्बरले संक्रमण बढेको छ । आइतबार एक हजार १६७ जनामा संक्रमण पुष्टि भएकोमा मंगलबार यो संख्या दुई हजार ४४४ पुगेको छ । आइतबार आठ हजार ८४८ पिसिआर परीक्षण भएकोमा ८४१ र ३७८४ एन्टीजेन परीक्षण भएकोमा ३२६ जनामा कोरोना पुष्टि भएको थियो ।
मंगलबार १५ हजार ३३ नमुना (१० हजार ६४८ पिसिआर र ४६३ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । यस्तै, सोमबार एक हजार ४४६ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । सोमबार ११ हजार ४२९ (८९६५ पिसिआर र २४६४ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएको मन्त्रालयको तथ्यांक छ । मंगलबार कोभिडबाट एकजनाको मृत्यु हुँदा ३१३ जना डिस्चार्ज भएका छन् ।
काठमाडौं उपत्यकामा भने संक्रमणको दर डरलाग्दो छ । मंगलबार काठमाडौंमा मात्रै ९८० जनामा संक्रमण भेटिएको छ । उपत्यकाभरि मंगलबार एक हजार २८६ जनामा संक्रमण पुष्टि भयो । जसमा ललितपुरमा २११ र भक्तपुरमा ८५ जना संक्रमित थपिएका छन् । अन्य जिल्लाहरूमा रुपन्देहीमा ५३, कञ्चनपुरमा ३८, कैलालीमा ३० जनामा पुष्टि कास्कीमा ८७, भक्तपुरमा ८५, काभ्रेमा ४०, चितवनमा ४७ मोरङमा ७२ जनामा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयको तथ्यांकअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी मंगलबार १४ सय ४१ जनामा कोरोना पुष्टि भएको छ । गण्डकीमा १४८ जनामा कोरोना पुष्टि हुँदा, प्रदेश नम्बर १ मा १२६, लुम्बिनीमा ११५, सुदूरपश्चिममा ७९, प्रदेश नम्बर २ मा ६९ र कर्णालीमा ११ जनामा कोरोना पुष्टि भएको छ । मुलुकभर सक्रिय संक्रमित संख्या नौ हजार ५२२ पुगेको छ ।
बढी संक्रमित हुने उमेर समूहमा २१ देखि ३० वर्षका रहेका छन् । सो उमेर समूहका ६३६ जनामा कोरोना पुष्टि भएको छ । ३१ देखि ४० वर्षका ४९९ जना छन् । १० वर्षसम्मका बालबालिका ४० जना र ११ देखि २० वर्ष उमेरका बालबालिका १७५ जना छन् ।
ठूलाबडाले नै मान्दैनन सरकारको निर्देशन
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गएपछि सरकारले जारी गरेको नियमहरूको ठूलाबडाहरूबाट नै उल्लंघन हुने गरेको छ । सोमबार मात्रै गृह मन्त्रालयले सूचना जारी गर्दै २५ जनाभन्दा बढी भेला नहुन भनेको थियो । तर, सिंहदरबारको मूलगेटमा नै सयौँको भिड थियो । राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्वराजा ज्ञानेन्द्र शाह र विभिन्न दलका नेता तथा मन्त्रीहरू नै त्यहाँ कार्यक्रममा सहभागी भएका थिए ।
मन्त्रालयले देशभरीका जिल्ला प्रशासन कार्यालयहरूमार्फत संक्रमणको रोकथाम र नियन्त्रणका लागि आठ बुँदे आदेश जारी गरेको भोलिपल्ट परेको पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंको भद्रकालीदेखि सिंहदरबारसम्मको सडकमा मानिसहरूको बाक्लो भिड थियो ।
मंगलबार सुरुमा राष्ट्रपति भण्डारीले पुष्पगुच्छा चढाएर फर्केलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह माल्यार्पणका लागि सिंहदरबारको मुलगेट अगाडीको शालिकमा पुग्नुभएको थियो । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको अध्यक्ष राजेन्द्र लिङ्देनसहित ठूलो संख्यामा कार्यकर्ताहरू थिए ।
संक्रमण बढ्दै गएपछि १५ दिनसम्म विद्यालय बन्द गर्न निर्देशन दिँदै २५ जनाभन्दा बढी भेला नहुन पनि आग्रह गरेको छ । तर, उपत्यकामा नै त्यसको उल्लंघन भएको छ ।
राजनीतिक र प्रशासनिक गतिविधि ठप्प
कोरोना भाइरस तीव्र बनेसँगै राजनीतिक गतिविधिहरू समेत ठप्प हुन थालेका छन् । राजनीतिक दलका शीर्ष नेताहरूलाई कोरोना संक्रमित भएका छन् । जसकारण राजनीतिक गतिविधि प्रभावित भएका छन् । सरकारका मन्त्री र कर्मचारीहरूमा समेत कोरोना पुष्टि हुँदा प्रशासनिक कामसमेत प्रभावित भएका छन् । मन्त्रिपरिषद्का नियमित बैठक बस्न सकेका छन् । दलहरू समेत आफ्नो पूर्व–निर्धारित कार्यक्रम स्थगित गर्न थालेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी नेता नारायणकाजी श्रेष्ठ, गणेश साह, मात्रिका यादव लगायतलाई कोरोना पुष्टि भएको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयका २० जना कर्मचारीमा कोरोना पुष्टि भएपछि माओवादीले केन्द्रीय कमिटी बैठक नै स्थगित गरेको थियो । कार्यालयका २२ जनामध्ये २० जनामा संक्रमण देखिएको थियो । अन्य नेताहरूलाई पनि कोरोना पुष्टि भएको छ । प्रचण्डलाई कोरोना पुष्टि भएपछि गठबन्धनको बैठक पनि प्रभावित भएको छ । गठबन्धन बैठकमा सहभागी भएको केही दिनपछि नै उहाँलाई कोरोना पुष्टि भएको थियो । त्यसपछि दलका शीर्ष नेताहरूले होम आइसोलेसनमा छन् । स्रोतका अनुसार अहिलेसम्म चारजना मन्त्रीहरूलाई कोरोना पुष्टि भएको छ ।
प्रधानमन्त्रीसमेत कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको छ । उहाँ पनि अहिले होम आइसोलेसनमा हुनुहुन्छ । जसकारण मन्त्रिपरिषद् बैठकसमेत प्रभावित भएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलको परिवारका सदस्यलाई पनि कोरोना पुष्टि भएको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत अन्य मन्त्री पनि कन्ट्याक्ट ट्रेसिङमा हुनुहुन्छ ।
नेकपा एमालेले पनि पार्टीको प्रदेश अधिवेशनको मिति सारेको छ । यसअघि माघ ८ मा तोकिएको अधिवेशन माघ २८ र २९ मा सारिएको नेता विष्णु रिजालले बताउनुभयो । यससम्बन्धी निर्देशनसमेत प्रदेशमा पनि पठाइसकेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । अधिवेशन हुन बाँकी जिल्ला अधिवेशनहरू माघ २२ गतेसम्म सम्पन्न गर्न निर्देशनसमेत दिइको छ । शुक्रबार उद्घाटन भएका जिल्लाहरूमा जिल्ला अधिवेशन भने जारी रहेको छ । अधिकांश जिल्लामा नेतृत्वसमेत चयन भइसकेको छ ।
उपत्यकामा जारी भयो १८ बुँदे आदेश
कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले १८ बुँदे आदेश जारी गरेका छन् । तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख तथा सुरक्षा अधिकारीको मंगलबार बसेको बैठकले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरेको हो ।
आदेश उल्लंघन गर्नेविरुद्ध कारबाही गरिने चेतावनीसमेत दिइएको छ । कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफारिस एवं गृह मन्त्रालयको निर्णय, संक्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश दिइएको प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । उक्त आदेश मंगलबार राति १२ बजेदेखि लागू भएको छ ।
आदेशानुसार घरबाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुन पानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न उपत्यकावासीमा आह्वान गरिएको छ ।
राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधि गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न तथा सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी कार्यक्रम गर्न रोक लगाइएको छ । अत्यावश्यक तथा नियमित कार्यका लागि स्थानीय प्रशासनको अनुमति आवश्यक पर्ने गरी आदेश जारी भएको छ ।
आदेशमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, सार्वजनिक स्थान (होटल, रेस्टुरेन्ट, सिनेमाहल, रंगशाला, हवाईयात्रा, उद्यान) लगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राखेको हुनुपर्ने उल्लेख छ । माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड लगाएको हुनुपर्ने गरी आदेश जारी भएको छ ।
स्थानीय तहसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने गरी कार्यतालिका बनाएर कार्यान्वयन गर्न आह्वान गरिएको छ । शिक्षा मन्त्रालयको निर्देशनबमोजिम माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाइ जेड आकारमा बसाई व्यवस्थापन गर्न आदेश दिइएको छ ।
सार्वजनिक सेवा प्रवाहमा चाप हुने कार्यालयमा भीडभाड नहुने उपयुक्त तरिका अपनाएर काम गर्न भनिएको छ । जिल्लाभित्रका निजी स्वास्थ्य संस्था र स्थानीय तहलाई विगतमा तयार पारिएको उपचार र आइसोलेसन केन्द्रलाई सुदृढ गरी सञ्चालनमा ल्याउन आदेश दिइएको छ । अक्सिजन सिलिण्डर आपूर्ति सहज बनाउन, कोरोनाको दोस्रो लहरमा प्रयोग भएका सिलिण्डर अस्पताल, उद्योग र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ । सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ ।
कोरोनासम्बन्धी आदेश प्रभावकारी पालना गराउन सुरक्षा निकायबाट आकस्मिक तथा नियमित अनुगमन गरिने जनाइएको छ । अनुगमनमा अवज्ञा गरेको पाइएमा संक्रामक ऐन, २०२० अनुसार कारबाही गरिने चेतावनी दिइएको छ । यस्त,ै औषधिलगायत अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने तथा कालोबजारी गर्ने तथा आपूर्तिमा अवरोध गर्नेलाई कानुनबमोजिम कारबाही गरिने आदेशमा उल्लेख छ ।




















