लिपुलेकमा भारतीय पक्षबाट भइरहेको सडक निर्माणको काम तत्काल रोक्न एमालेको माग।

सरकारको सन्देहास्पद मौनताले अनेकौँ प्रश्न जन्माएको ठहर

[ डीबि शर्मा ] 

काठमाडौं:= प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयप्रति आपत्ति जनाएको छ । नेपाली भूभाग (लिपुलेक, लिम्पियाधुरा)मा सडकलगायत संरचना निर्माणप्रति गम्भीर आपत्ति जनाएको हो। एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गर्नुभएको हो ।

‘गतवर्ष नै राजनीतिक-प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत नेपालले यस विषयमा आफ्नो कानुनी तथा राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै छ । ती भूभागहरू फिर्ता गराउन र तिनमा नेपालको भोगचलन सुनिश्चित गर्न नेपाल सरकारले विगतमा कूटनीतिक पहल सुरु गरेको यथार्थ पनि स्पष्ट छ,’ भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल-भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीचमा थाँती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुंग्याउने भनी गरिएको सहमतिविपरीत भारतीय पक्षबाट सडकसहितका संरचना निर्माणलाई तीव्रता दिइरहेकोप्रति नेकपा (एमाले)को गम्भीर ध्यानाकर्षण भएको छ।’

यस्ता गतिविधि तत्काल बन्द गर्नसमेत एमालेले आग्रह गरेको छ । ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुंग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले)को अविचलित मान्यता छ ।’

एमालेले यसप्रति सरकारको मौनताले अनेकौँ प्रश्न उब्जाएको बताएको छ । ‘तर, राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ,’ विज्ञप्तिमा भट्टराईले भन्नुभएको छ, ‘हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यावहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ ।’ हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको मान सरोवरसम्म पुग्न नेपाली भूमि कालापानी हुँदै बाटो बनाइरहेको बताउनुभएको थियो ।

प्रदेशमा अधिवेशन सर्‍यो 

नेकपा एमालेले प्रदेश अधिवेशन सारेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढिरहेको र सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएकाले प्रदेश अधिवेशनहरू सारिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो । उहाँका अनुसार अब एमाले प्रदेश अधिवेशन माघ २८ र २९ गते हुनेछ । यसअघि एमालेले माघ ८ गते प्रदेश अधिवेशन गर्ने तय गरेको थियो ।

एकसातायता देशभरि नै कोरोना संक्रमण दर बढेको छ । सरकारले समेत २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ भने शैक्षिक संस्था बन्द भएका छन् । अहिले एमालेको विभिन्न जिल्लामा जिल्ला अधिवेशन चलिरहेका छन् । यही पुस २३ गते एकैपटक जिल्ला अधिवेशन उद्घाटन गरिएको थियो ।

प्रचार विभाग प्रमुख रिजालका अनुसार मंगलबार दिउँसोसम्म तीन भौगोलिक प्रदेशसहित ५३ जिल्लाले नयाँ नेतृत्व पाएको छ । अधिकांश स्थानमा अहिलेसम्म सर्वसम्मत नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको एमालेले जनाएको छ । देशका ६३ जिल्लामा शुक्रबारबाट सुरु भएको अधिवेशनमध्ये परिणाम आएका अधिकांश जिल्लामा सहमतिमा नै नेतृत्व चयन भएको एमालेले जनाएको छ ।