बतास समूहको ठेक्का विवादमा मुछिएका कार्यकारी निर्देशक दाहालद्वारा राजीनामा।

काठमाडौं:= नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा रेष्टुरेण्ट सञ्चालनका लागि बतास समूहलाई ठेक्का दिएको विवादमा मुछिनुभएका कार्यकारी निर्देशकले पदबाट राजीनामा दिनुभएको छ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले मंगलबार आफ्नो पदबाट राजीनामा दिनुभएको हो ।

नारायणहिटी दरबार संग्रहालयको जग्गा ठेक्काको विषयमा छानविन गर्न मन्त्रालयले गठन गरेको छानविन समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै दाहालको जग्गा सस्तोमा भाडामा दिने मिलेमतोमा संलग्नता देखिएको निष्कर्ष निकालेको थियो । समितिले पदीय जिम्मेवारीसमेत पूरा नगरेको भन्दै उहाँलाई कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

दाहालले क्षेत्रफल किटान नगरेर सम्बन्धित निकायले नै क्यान्टिन सञ्चालन गर्ने कम्पनीलाई बढी क्षेत्र ओगट्न प्रोत्साहन गरेको मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित छानविन समितिले जनाएको छ । दाहालले सार्वजनिक सम्पत्ति संरक्षण गर्ने आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको पनि समितिको ठहर छ ।

बतास समूहले सार्वजनिक खरिद ऐनविपरीत मिलेमतोबाट नारायणहिटीमा चमेनागृहसहित १४ रोपनी जग्गा निक्कै सस्तो मूल्यमा हात पारेको पर्यटन मन्त्रालयको छानविनमा देखिएको थियो । लुइँटेलको संयोजकत्वमा गत बुधबार गठित ‘नारायणहिटी दरबार संग्रहालयको परिसरमा क्यान्टिन÷क्याफेटेरिया सञ्चालनसम्बन्धी अध्ययन एवं छानविन समिति’ ले पुरानो दरबारकालीन ऐतिहासिक बंकरसमेत होटल सञ्चालनका लागि बतास समूहले सम्झौतामा उल्लेख नै नगरी अतिक्रमण गरेको देखाएको थियो । ‘क्याफेटेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन नगरी’ संग्रहालयका कार्यकारी निर्देशक दाहालले आफ्नै तजबिजले बढी क्षेत्र दिएर थप निर्माण गर्न बतास कम्पनीलाई प्रोत्साहन गरेको देखिएको पनि समितिको ठहर छ।

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले तीन सदस्यीय छानविन समिति बनाएर बतास ग्रुपले क्याफ्टेरिया निर्माणका लागि कसरी टेण्डर पा¥यो भन्ने विषयमा छानविन समिति बनेको थियो ।

कार्यकारी निर्देशक दाहालले भने छानविनका लागि सहज होस् भनेर आफूले राजीनामा दिएको दाबी गर्नुभएको छ । ३० वर्ष पुरातŒव विभागमा आफूले काम गरेको र संग्रहालयमा काम गर्दा पनि आफूले कहिल्यै गलत नियतले कुनै पनि निर्णय नगरेको उहाँको जिकिर छ । उहाँ पुरातŒव विभागबाट सेवानिवृत सहसचिव हुनुहुन्छ ।

गणतन्त्र स्थापनापछि संस्कृति मन्त्रालय मातहत राखिएको नारायणहिटी दरबार संग्रहालयलाई २०७६ मंसिर २ गते नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका रूपमा परिणत गरिएको थियो । विकास समितिमा रूपान्तरण गरेपछि दाहाललाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो ।

दाहालले दिएको राजीनामा मंगलबार नै स्वीकृत भएको छ । मन्त्रालयका सचिव महेश्वर न्यौपानेले राजनीनामा स्वीकृत भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो, उहाँको राजीनामा स्वीकृत भएको छ ।’ नारायणहिटी परिसरमा बतास समूहले रोयल बगैँचा रेष्टरेण्टका लागि निर्माण गरिरहेका केही भौतिक संरचना भत्काइएको पनि छ ।

बतास समूहले हात हालेका अन्य व्यवसाय पनि विवादित 

बतास समूहका अध्यक्ष आनन्दराज बतास हुनुहुन्छ । यो समूहमा अन्य दुई दाजुभाइ विपिनराज बतास र शान्तराज बताससमेत संलग्न हुनुुहुन्छ । यो समूहको घरजग्गा कारोबारदेखि मोटर पार्टस्, सोरुम, जलविद्युत् आयोजना, रेमिट्यान्स, होटल, रेष्टुरेण्ट, इन्भेष्टमेन्टलगायत १६ वटा कम्पनी रहेका छन् । पोखरामा व्यवसाय थालेर राष्ट्रियस्तरमा उदाएको यो समूहलाई नेपालको अटोमोबाइल व्यवसायमा समेत प्रतिष्ठित घरानाका रूपमा लिने गरिन्छ ।

बतास फाउण्डेशनमार्फत पनि यो समूहले सामाजिक कार्य गर्दै आएको छ । यो समूहको नारायणहिटी दरबार संग्रहालयको रेष्टुरेण्टदेखि पाटन दरबार क्षेत्रका पसल, पशुपतिनाथको धर्मशालादेखि पोखराको प्रदेश संग्रहालय भवनमा सञ्चालित अटो सोरुमलगायत रहेका छन् ।

नारायणहिटी दरबार संग्रहालय परिसरभित्र रेष्टुरेण्ट सञ्चालन गर्न जथाभावी संरचना निर्माण गर्न थालेपछि यो समूह विवादमा परेको छ । यो समूहले हात हालेका अन्य व्यवसाय विवादितमा तानिएका छन् । बतास ग्रुपले आफ्नो राजनीतिक तथा प्रशासनिक पहुँचको फाइदा उठाउँदै सार्वजनिक तथा सरकारी सम्पत्तिहरू चलन चल्तीभन्दा निकै सस्तोमा हात पार्ने गरेको आरोप लागेको छ । बतासले जहाँ–जहाँ व्यवसायका क्रममा हात हालेको तीमध्ये धेरैमा विवादमा तानिएको छ ।