एक सातामा ५९ अर्ब निक्षेप थपियो।

काठमाडौं:=तरलता संकटमा रहेको बंैकिङ प्रणालीमा पछिल्लो एक सातामा ५९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । चालु आर्थिक वर्षको पुसको १६ देखि २३ गतेसम्म बैंकहरूमा ५९ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । सो अवधिमा बैंकहरूले नौ अर्ब रुपैयाँमात्रै कर्जा लगानी गरेका छन् । यसअघि असोज दोस्रो साता पनि बैंकहरूमा ३८ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो ।

पछिल्लो समयमा स्थानीय निकायको खातामा रहेको सरकारी रकमको ८० प्रतिशतसम्म निक्षेप गणना गर्न पाउने व्यवस्थाले निक्षेप बढ्न गएको बताइएको छ । त्यस्तै विलासिताका वस्तु आयातमा कडाइ, कोरोनाको तेस्रो लहरको जोखिमका कारण आर्थिक गतिविधि प्रभावित हुन सक्ने भएपछि सर्वसाधारणले बैंकमा निक्षेप राख्न थालेकाले पनि निक्षेप बढ्न गएको बताइएको छ । बैंकहरूले उच्च कर्जा लगानीसँगै बैंकिङ क्षेत्रमा तरलताको अभाव सुरु भएपछि अन्तरबैंक कारोबारसमेत रोकिएको थियो ।

पछिल्लो समयमा करिब ९२ प्रतिशतसम्म रहेको कर्जा निक्षेप अनुपात पनि निक्षेप बढेसँग ९० भन्दा तल झरेको छ । चालु आर्थिक वर्षको पुसको १६ देखि २३ गतेसम्ममा बैंकमा स्वदेशी निक्षेप थपिए पनि विदेशी मुद्राको निक्षेप भने घटेको छ । सो अवधिमा विदेशी मुद्राको निक्षेप तीन अर्बले घटेको हो । बैंकहरूले पुस २३ गतेसम्म कुल ४३ खर्ब सात अर्ब रुपैयाँ कुल निक्षेप संकलन गरेका छन् भने ४१ खर्ब आठ अर्ब कर्जा लगानी गरेका छन् ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न निर्देशन

नेपाल राष्ट्र बैंकले कोरोनाको तेस्रो लहरको जोखिमसँगै बैंक वित्तीय संस्थालाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक वित्तीय संस्थाले सेवा प्रदान गर्दा सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण पालना गर्न निर्देशन दिएको हो । वित्तीय सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने बैंक वित्तीय संस्थाका जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिम न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्न पनि राष्ट्र बैंकले सचेत गराएको छ ।

बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित एटिएम बुथबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजरलगायतका सामग्रीको व्यवस्थासमेत गर्न राष्ट्र बैंकले सुझाव दिएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिमजस्ता कार्यक्रममा भौतिक दूरी सुनिश्चित गर्र्न वा सकभर भर्चुअल माध्यमबाट गर्न पनि निर्देशन दिएको छ ।