माघ १५सम्म विद्यालय बन्द, २५ जनाभन्दा बढी भेला हुन नदिन गृहको निर्देशन
[ डीबि शर्मा ]
काठमाडौं:= कोरोना संक्रमणदर १२ प्रतिशत नाघेको छ । नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएको हो । एक साताको अवधिमा कोरोना भाइरसको संक्रमणदर चार गुणाले बढेको तथ्यांकले देखाएको छ । गत मंगलबार ३९३ जनामा संक्रमण पुष्टि भएकोमा सोमबार त्यो संख्या बढेर एक हजार पाँच सय नजिक पुगेको हो।
सोमबार एक हजार ४४६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको आठ हजार ९६५ पिसिआर र दुई हजार ४६४ जनाको एन्टीजेन परीक्षणका क्रममा एक हजार ४४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रायका अनुसार सोमबार संक्रमणमुक्त हुनेको संख्या भने २५५ मात्रै छ ।
पछिल्लो चार दिनमा मात्रै चार हजार पाँच सय बढीमा संक्रमण पुष्टि भएको छ । शुक्रबारदेखि सोमबारसम्म चार हजार ५२१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार ९६७ जनामा संक्रमण पुष्टि भएको थियो । शनिबार ९४४, आइतबार एक हजार १६४ र सोमबार एक हजार ४४६ जनामा संक्रमण पुष्टि भएको हो । जबकि गत आइतबार कोरोना संक्रमण हुनेको संख्या २१६ मात्रै थियो ।
पछिल्लो एकसाताको तथ्यांकले नेपालमा कोरोना संक्रमण बढ्दै गएको पुष्टि हुन्छ । पुस २० गतेसम्म दुई सयमाथि रहेको संक्रमितको संख्या एकसता पनि नबित्दै एक हजार पाँच सय नजिक पुगेको हो । संक्रमणदर बढ्दै गएसँगै कोरोनाको तेस्रो लहर सुरु हुने चिन्ता थपिएको छ । भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण उच्च दरमा वृद्धि भइरहेका बेला नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेको हो ।
नेपालमा शुक्रबार २४ जनामा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो । नेपालमा पहिलोपटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट मंसिर २० गते दुई विदेशी नागरिकमा पुष्टि भएको थियो । कोरोना संक्रमण दर बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढ्न थालेको छ । दैनिक बढिरहेको संक्रमणदरका कारण सक्रिय संक्रमितको संख्या पनि बढेको हो ।
सोमबार देशभर सक्रिय संक्रमितको संख्या सात हजार ८५५ पुगेको छ । जसमध्ये सात हजार २४५ जना होम आइसोलेसनमा छन् भने ६१० जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ६७ जना आइसियु र १६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
ओमिक्रोन एकदमै चाँडो फैलिइरहेको छ : डा. आचार्य
भाइरसविज्ञ डा.रमेश आचार्यले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्टभन्दा एकदमै चाँडो फैलिइरहेको बताउनुभयो । ओमिक्रोन डेल्टाभन्दा कम संक्रामक भएको कारण मृत्युदर भने कम हुने उहाँले राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै जानकारी दिनुभयो । ‘ओमिक्रोन डेल्टा भेरियन्टभन्दा एकदमै चाँडो फैलिएको छ । पत्ता लागेको डेढ महिनामा धेरै देशमा पुगिसकेको छ,’ उहाँले भन्नुभयो ।
अन्य देशमा दुई वर्षदेखि ११ वर्षमुनि उमेर समूहका धेरै बालबालिकाले खोप लगाएको भन्दै उहाँले नेपालका बालबालिकाहरूलाई पनि तुरुन्तै खोपको व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्नुभयो । धेरै देशमा ओमिक्रोन भेरियन्टका खोकी लाग्ने, नाकबाट पानी, धेरै ज्वरो र घाँटी दुख्ने जस्ता लक्षणहरू देखिएको उहाँले जानकारी दिनुभयो ।
अस्पतालमा कोभिड संक्रमितको चाप बढ्यो :
संक्रमण बढेसँगै अस्पतालहरूमा कोरोना भाइरसका संक्रमित बिरामीको चाप बढेको छ । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का निमित्त प्रमुख कार्यकारी निर्देशक डा. भुपेन्द्र बस्नेतले अस्पतालमा कोभिड संक्रमित बिरामीको संख्या बढेको बताउनुभयो । ‘अहिले केही मात्रामा कोभिडका बिरामी बढेको देखिएको छ,’ उहाँले भन्नुभयो, ‘यो हप्ताको गतिलाई हेर्दा बढेको देखिन्छ । सबै अस्पतालमा बिरामीको संख्या बढेको छ र सबै तयारी गरेका छौँ ।’
संक्रमितको संख्या बढ्दै जाँदा तयारी पनि बढाएको उहाँले जानकारी गराउनुभयो । वीर अस्पतलामा एक सयवटा आइसियु, एक सयवटा एचडियु, तीन सयवटामा अक्सिजनको सुविधा र दुईवटा अक्सिजन प्लान्ट तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । सबैलाई कोभिडबाट बाँच्न भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न, भिडभाडमा नजान, सभा सम्मेलन नगर्न पनि डा. बस्नेतको आग्रह छ ।
संक्रमण फैलनुमा दलहरू दोषी : डा. दीक्षित
वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले नेपालमा कोरोना भाइरसको संक्रमण फैलनुमा राजनीतिक दलहरू बढी दोषी भएको बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डा. दीक्षितले दलहरूले महाधिवेशन गर्दा संक्रमण फैलिएको आरोप लगाउनुभयो ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता दलहरूको महाधिवशेनको कारण कोरोना भाइरसको संक्रमण बढाएका हुन्,’ उहाँले जिकिर गर्नुभयो, ‘दलहरूले कोरोना संक्रमणलाई गम्भीर रूपमा नलिएकाले भयावह अवस्था आइसकेको छ ।’
कुनै पनि दल र दलका नेताहरूको प्रतिवेदनमा कोरोना खोपको बारेमा उल्लेख नगरेकोेसमेत उहाँले बताउनुभयो । खोप नै भाइरसको संक्रमण रोक्ने एक मात्र बुटी भएको भन्दै डा. दीक्षितले खोप तत्काल ल्याउन सरकारलाई सुझाव दिनुभयो ।
सिसिएमसीको सिफारिस कार्यान्वयन गर्न निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको दर बढेसँगै माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार माघ १५ गतेसम्म देशभरका सबै आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न मन्त्रालयले सूचना जारी गरेको हो।
उहाँले बिदाको अवधिमा पनि सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयहरूले अनलाइन माध्यमबाट पठन पाठन जारी राख्नुपर्ने बताउनुभयो । आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई दिएको सिफारिस गरेको थियो ।
मन्त्रालयका प्रवक्ता शर्माले विद्यालय बन्द भएको बेलामा सबै विद्यालयहरूले १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोपको प्रवन्ध गरिने पनि बताउनुभयो ।विश्वविद्यालयको परीक्षाहरू भने सञ्चालन हुने उहाँले स्पष्ट पार्नुभयो । विश्वविद्यालयहरूको परीक्षाहरू, वार्षिक परीक्षा, सेमेष्टर परीक्षा भने भौतिक दूरी कायम गरेर, मास्क, सेनिटाइजर प्रयोग गरेर जेड आकारको बसाइको सिट प्लान गरेर चलाउने बताउनुभयो ।
यस्तै, गृह मन्त्रालयले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरूलाई पत्राचार गर्दै सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको हो ।
मन्त्रालयले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरैजना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न भनेको छ । यस्तै, अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने र अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्न पनि भनेको छ ।
सार्वजनिक स्थानहरू (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवाय रूपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राख्ने र ती निकायहरूले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन पनि भनेको छ ।




















