काठमाडौं := नेपाल सरकारले मलेसियामा नेपाली श्रमिक भर्नासम्बन्धी प्रक्रियामा देखिएका विषय तथा विदेशी श्रमिक व्यवस्थापन प्रणाली (FWCMS) सम्बन्धमा छलफल गर्न नेपाल–मलेसिया संयुक्त कार्यदल (JWG) को बैठक काठमाडौँमा आयोजना गर्ने प्रस्ताव गरेको छ।
युवा तथा श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई औपचारिक रूपमा पत्राचार गर्दै आगामी नोभेम्बर वा डिसेम्बर २०२६ मा संयुक्त बैठक बस्न प्रस्ताव गरेको हो। नेपालले बैठकका लागि नोभेम्बर १८ र १९ वा डिसेम्बर २ र ३, २०२६ को मिति प्रस्ताव गरेको छ। यद्यपि, अन्तिम मिति भने मलेसिया सरकारको अनुकूलता र आपसी सहमतिअनुसार तय गरिने जनाइएको छ।
नेपालले नयाँ व्यवस्था लागू गर्ने विषयमा दुई देशबीच सहमति नहुँदासम्म हाल सञ्चालनमा रहेका श्रमिक भर्नासम्बन्धी प्रक्रियालाई निरन्तरता दिनुपर्ने प्रस्तावसमेत अघि सारेको छ। यसबाट नेपाली श्रमिकको मलेसिया जाने प्रक्रियामा अनिश्चितता र अवरोध सिर्जना हुन नदिन सहयोग पुग्ने नेपालको अपेक्षा छ।
प्रस्तावित बैठकमा विशेषगरी मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (FWCMS) अन्तर्गत नेपाली श्रमिकको छनोट, स्वास्थ्य परीक्षण, प्रक्रिया तथा भर्ना प्रणालीलाई व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, नेपाल र मलेसियाबीच सन् २०१८ मा हस्ताक्षर भएको श्रमसम्बन्धी समझदारीपत्र (एमओयू) नवीकरणका लागि तयार पारिएको मस्यौदालाई अन्तिम रूप दिने विषय पनि बैठकको प्रमुख कार्यसूचीमा रहने अपेक्षा गरिएको छ।
नेपालको मुख्य चासो FWCMS अन्तर्गत श्रमिक छनोट तथा भर्ना प्रक्रिया कसरी सञ्चालन भइरहेको छ र त्यसमा गरिने सम्भावित परिवर्तनलाई दुवै देशको सहमतिमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा केन्द्रित रहेको छ। नेपालले यस विषयलाई एकपक्षीय रूपमा नभई द्विपक्षीय संवाद र सहमतिमार्फत टुङ्ग्याउनुपर्ने धारणा अघि सारेको छ।
नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हकहित संरक्षण, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगार प्रवर्द्धन र श्रम सहकार्यलाई दीर्घकालीन रूपमा थप सुदृढ बनाउने प्रतिबद्धता पनि दोहोर्याएको छ।
नेपालको यो प्रस्ताव कार्यान्वयनमा आएमा मलेसियामा नेपाली श्रमिक भर्नासम्बन्धी विद्यमान अन्योल समाधान गर्न तथा दुई देशबीचको श्रम सहकार्यलाई थप व्यवस्थित बनाउन महत्त्वपूर्ण अवसर बन्न सक्नेछ।


















