बढ्दै गैइरहेको कोरोना भाइरसको माहामारीले मेला महोत्सव पुनः प्रभावित।

[  गोपिकृष्ण चापागाईं ] 

काठमाडौं:= नेपाली लोकगीतको क्षेत्रका पछिल्लो समयका लोकप्रिय गायक खेम सेञ्चुरीले दुई साताअघि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्नुभयो । ‘पृथ्वी गोलो छ भन्थे एकचोटी घुमेर आउनु प¥यो सररर, गाउँ शहर डुल्दै संगीतप्रेमीहरूको माया बटुल्दै ।’ योसँगै खेमले आफ्नो ११ दिनको तालिका सार्वजनिक गर्नुभयो ।

पुस १३ गते तुल्सीपुरको कार्यक्रम सुरु गरेर पाल्पा, तनहूँ, रामेछाप, बाग्लुङ, सिन्धुली, दाङ, सल्यान हुँदै माघ ५ गते बाँके, बर्दियासम्म पुग्ने तालिका खेमको थियो । यहाँ अधिकांश मेला महोत्सवका कार्यक्रम तय भएका थिए । केही महोत्सवमा खेम हिँडिरहनुभएको छ भने केही प्रभावित हुने भएका छन् ।

यस्तै लोकप्रिय गायक प्रकाश सपुतले पनि आफ्नो मंसिर र पुस महिनाको तालिका सार्वजनिक गर्नुभयो । उहाँको तालिकामा अधिकांश मेला महोत्सव नै थिए । गायक प्रकाशको माघमा पनि व्यस्त तालिका छ । यतिमात्र होइन अहिले जति दर्शक श्रोताको नजरमा परेका गीतसंगीतका कलाकार हुनुहुन्छ लगभग सबै मेला महोत्सवमै व्यस्त हुनुहुन्छ ।

अहिलेका चल्तिका अन्य कलाकार राजेश पायल राई, प्रमोद खरेल, बद्री पंगेनी, खुमन अधिकारी, ज्योति मगर, समीक्षा अधिकारी, रचना रिमाल, एलिना चौहानलगायत व्यस्त देखिनुहुन्छ । भर्खर सम्पन्न पुस ८ देखि १९ गतेसम्म नवलपुर होटल व्यावसायी संघद्वारा आयोजित बृहत् प्रथम नवलपुर खाना, पर्यटन, संस्कृतिक व्यापारिक महोत्सवमा बीसौं हजारौंले अवलोकन गरेको आयोजकको दाबी छ ।

सो महोत्सव नसकिँदै नवलपुरकै मध्यबिन्दुमा दोस्रो एतिहासिक मध्यबिन्दु महोत्सव चलिरहेको छ । सो महोत्सवमा दिनहुँ कलाकारको बाक्लो उपस्थिति छ । यतिमात्रै होइन चितवनमा प्रथम गड्यौली महोत्सव दुई दिनअघिमात्रै सम्पन्न भयो । यस्तै गोर्खामा पनि महोत्सव जारी छ । यही पुस २३ गतेदेखि माघ २ गतेसम्म भन्दै सिन्धुलीमा बृहत् तेस्रो मरिन महोत्सवको व्यापक प्रचार गरिएको छ ।

सो महोत्सवमा सांस्कृतिक संयोजक हेमन्त ठाडा मगरले तोकिएको मितिसम्म महोत्सव सञ्चालन गर्नेमै आफूहरू रहेको बताउनुभयो । उहाँले हिमालय टाइम्ससँग भन्नुभयो, ‘अहिले सरकारले पूर्णरूपमा निर्णय गरिसकेको अवस्था नभएर हामीले माघ २ गतेसम्म नै महोत्सव सञ्चालन गर्नेछौं । त्यो बीचमा सरकारले अन्य कुनै निर्णय गरेमा निर्णयानुसार चल्नु त परिहाल्छ ।’

साथै देशैभर विभिन्न मेला–महोत्सव जारी भइरहँदा कोरोना भाइरस पनि तीव्र रूपमा फैलिरहेको छ । सिसिएमसीको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने गरी आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई सिफारिश गरेको छ । माघ ७ गतेबाट लागू गर्नेगरी गरेको सिसिएमसीको सिफारिश सरकारले निर्णयको रूपमा अगाडि बढाएमा अहिले जारी र आयोजना हुन तयारी अवस्थामा रहेका देशैभरका मेलामहोत्सव प्रभावित हुने देखिन्छन् । लाखौंको खर्चमा व्यवस्थापन गरिएको मेला महोत्सव पूर्णरूपमा रोक्नुपरेपछि आयोजक तनावमा देखिन्छन् ।

सिफारिशमा सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थिति हुनेगरी प्रशासनिक, सामाजिक हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन भनिएको छ । अर्को सूचना नभएसम्म सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्न÷नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत लेखी पठाउने निर्णय भएको छ ।

सार्वजनिक स्थानहरू जस्तै कार्यालय, होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि प्रवेश गर्दा अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड साथमा राख्ने र ती निकायले खोप कार्ड हेरेरमात्र प्रवेशको व्यवस्था मिलाउने गरी व्यवस्था मिलाउन जिप्रकालाई आग्रह गरिएको छ । यस्तै, सार्वजनिक स्थानहरूमा निःशुल्क एन्टिजेन टेष्ट बुथहरू स्थापना गर्ने र नियमित खोप केन्द्रमा खोपलाई अभियानका रूपमा अगाडि बढाइनेछ ।