देउवा गठबन्धनको सरकार स्थानीय तहको निर्वाचन गर्ने पक्षमा छैन: केपी ओली।

संखुवासभा:= नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार स्थानीय तहको निर्वाचन गर्ने पक्षमा नरहेको बताउनुभएको छ । स्थानीय निर्वाचनसम्बन्धी ऐनअनुसार आगामी फागुनमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भए पनि सरकारले तयारी नगरेको अध्यक्ष ओलीले आरोप लगाउनुभयो ।

२०७४ साल वैशाख मसान्तमा निर्वाचन भएको तर्फ लक्षित गर्दै ओलीले निर्वाचन भएको दुई महिना अगाडि नै निर्वाचन हुनुपर्नेमा सरकारको ध्यान त्यतातिर नगएको जिकिर गर्नुभयो । संखुवासभा जिल्ला अधिवेशनको सोमबार उद्घाटन गर्दै अध्यक्ष ओलीले फागुनमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने भए पनि सरकारको ध्यान त्यता नरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले अहिलेको सरकार स्थानीय तहको निर्वाचन गर्न छाडेर लुटमारमा लागेको आरोपसमेत लगाउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार लुटमारमा लागेको छ । चुनावतिर होइन ।’ स्थानीय निर्वाचनसम्बन्धी ऐनमा पहिलोपटक निर्वाचन भएको मितिको दुई महिना अगाडि नै नेतृत्व चयन हुनुपर्ने भए पनि त्यसको तयारी नभएको उहाँको भनाइ छ ।

ओलीले २०७४ सालमा स्थानीय तहको पहिलो चरणको निर्वाचन वैशाखमा सम्पन्न भएकाले फागुनमै अहिले निर्वाचन हुनुपर्ने उल्लेख गर्नुभयो । २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । ओलीले जति चरणमा निर्वाचन भए पनि पहिलो चरणको निर्वाचन सुरु भएको मितिभन्दा दुई महिना अगाडि नै नयाँ पदाधिकारी चयनका लागि प्रक्रिया सुरु हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय निर्वाचनसम्बन्धी ऐनअनुसार पहिलोपटक जुन मितिमा हुन्छ । त्यसको दुई महिना अगाडि गरिसक्नुपर्छ । चरण-चरणमा निर्वाचन भए पनि पहिलो चरणमा भएको मितिले दुई महिना अगाडि नै निर्वाचन हुनुपर्ने हो । २०७४ को निर्वाचनको समय मानेर दुई महिना अगाडि निर्वाचन गरिसक्नुपर्छ भनेको फागुनमा गर्ने हो । तर, फागुनमा निर्वाचन गर्ने कुनै सम्भावना छैन ।’

विगतको अवस्थालाई स्मरण गर्दै ओलीले सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर कर्मचारीमार्फत सञ्चालन गर्न खोजेको आरोप लगाउनुभयो । विगतमा पनि सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर कर्मचारीमार्फत चलाएको स्मरण गर्दै अहिले पनि सोही प्रकारको षड्यन्त्र भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘२०५९ सालमा पनि जनप्रतिनिधिहरूको चुनाव गरेर म्याद थपिएन । त्यो बेला कर्मचारीहरुको जिम्मा लगाइएको थियो । त्यसपछि स्थानीय तह पंगु भए ।’

झण्डै दुई दशकपछि एमालेको कारण स्थानीय तहको निर्वाचन भए पनि अहिले अशंका बढ्दै गएको उहाँको भनाइ थियो । ओलीले २०७४ सालमा एमालेकै कारण स्थानीय तहहरूमा प्रतिनिधिहरूको निर्वाचन सम्पन्न भएको दाबीसमेत गर्नुभयो ।अध्यक्ष ओलीले एमालेले काम गर्न नसकेर सरकारबाट बाहिरएको नभई दुनियाँ हल्लाउने गरी काम भएपछि ढालिएको जिकिर गर्नुभयो । विश्व बैंक, युनेस्को र डब्ल्युएचओले समेत आफू नेतृत्वको सरकारको प्रशंसा गरेको ओलीको दाबी छ ।

उहाँले भन्नुभयो, ‘एमालेले नेतृत्व गरेको सरकारका बेला नेपालको प्रशंसा विश्व बैंकले गरेको थियो । शिक्षाको क्षेत्रमा युनेस्कोले प्रशंसा गरेको थियो । स्वास्थ्यको क्षेत्रमा डब्ल्यूएचओले प्रशंसा गरेको थियो । स्रोत साधन नभए पनि कोभिडविरुद्ध लडेकोमा प्रशंसा गरेका थिए । तर षड्यन्त्र गरेर केही तŒवले हामीलाई हटाए । षड्यन्त्र सधँै काम लाग्दैन । षड्यन्त्रकारीहरू जनतामाझ जान डराइरहेका छन् ।’

एमाले जनतालाई अधिकार र सेवा दिने हैसियतमा छ

अध्यक्ष ओलीले अहिले आफ्नो पार्टी जनतालाई अधिकार र सेवा दिन सक्ने हैसियतमा रहेको बताउनुभएको छ । फेरि पनि एमाले जनादेशबाट सरकारको नेतृत्वमा पुग्ने दाबी गर्दै ओलीले देशलाई स्वाभिमानपूर्वक सुशासन र विकासको बाटोबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन जनताले पुनः एमालेलाई सरकारको नेतृत्वमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

ओलीले मुलुकको समृद्धि, विकास र राष्ट्रियताको पहरेदारीका लागि आफ्नो पार्टी निर्विकल्प भएको जिकिरसमेत गर्नुभएको छ । अन्य पार्टीमा रहेका नेता-कार्यकर्तालाई एमालेमा सामेल हुन आग्रह गर्नुभयो । ओलीले अन्य पार्टीमा रहेर त्यहाँको विचार र व्यवहारको परीक्षण गरेर एमालेमा प्रवेश गर्नेलाई नवप्रवेशीलाई कहिल्यै पश्चात्ताप नहुने ठोकुवा गर्नुभयो ।

यस्तै, एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत स्थानीय तहको निर्वाचनमा प्रतिपक्षमा रहेर कांग्रेस र नेकपा (माओवादी केन्द्र) को तालमेलको मुकाबिला गरेको र आगामी निर्वाचनमा पनि एमाले एक्लैले जनताको साथ पाउने दाबी गर्नुभयो । एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले अनेक जालझेल र तिकडमबाट एमाले नेतृत्वको सरकार ढालिएको र जनताको समृद्धिको चाहनामाथिको प्रहार भएकाले आगामी निर्वाचनमा त्यसको जवाफ फर्काइने उद्घोष गर्नुभयो ।