सडक मिचेर निर्माण भएका,गरिएका संरचना हटाउन १५ दिनको अल्टिमेटम।

[ विजय रावत ]

जुम्ला:= सडकमा निर्माण भएका संरचना हटाउन सडक डिभिजन कार्यालय जुम्लाले १५ दिनको समयसीमा दिएको छ । कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्टदेखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण भएको सडक डिभिजन कार्यालय जुम्लाका सबइञ्जिनियर वीरेन्द्र रावलले बताउनुभयो ।

सडक डिभिजनले चिन्ह लगाएर छोडेको जग्गाासमेत अतिक्रमण गरी स्थानीयवासीले घर टहरा, पर्खाल सेफ्टी ट्यांकी लगायतका संरचना निर्माण गरेको भेटिएको छ । नापी कार्यालय र सडक डिभिजनले सडकको क्षेत्र नाप्दा घर टहरा, पर्खाल सेफ्टी ट्यांकी गरी २४ वटा संरचनाले सडक मिचेर निर्माण गरेको भेटिएको सडक डिभिजन जुम्लाका सब-इञ्जिनियर रावलले बताउनुभयो ।

सडक अतिक्रमण हटाउन अभियानअन्तर्गत गरिएको नापी नक्साबाट दुईवटा पक्की घर, चारवटा जस्तावाला घर, चारवटा पक्की सेफ्टी ट्यांकी, आठवटा तारजाली एंगलसहितका पर्खाल, एउटा ढुंगाको पर्खाल र पाँचवटा टहरा गरी २४ वटा संरचना सडक अतिक्रमण गरेर निर्माण भएका छन् । दुईवटा पक्की घर र चारवटा सेफ्टी ट्यांकीलाई आफ्नै तरिकाले हटाउन १५ दिने अल्टिमेटम दिइएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो ।

‘पक्की घर मालिक र सेफ्टी मालिकलाई अतिक्रमण हटाउन पत्रसमेत दिएका छौँ । पत्र लिन नमान्नेको घरमै सूचना टाँस गरेका छौँ । १५ दिनभित्र नहटाए र सम्पर्कमा नआएपछि सडक ऐन २०३१ अनुसार भत्काइने छ’ प्रमुख श्रेष्ठले भन्नुभयो, ‘घरको आँगन, निर्माण सामग्री भत्काउने र हटाउन काम जारी छ ।’ जस्तावाला घर हटाउन सात दिनको समय दिइने र सो अवधिमा नहटाए डोजर प्रयोग गरी हटाइने पनि कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । सडक मिचेर घर टहरा निर्माण गरेका २८ जनालाई चाँडै हटाउनसमेत पत्राचार गरिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।