झापा:= नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नारायणहिटी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताउनुभएको छ । झापामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नारायणहिटी विवाद र नारायणहिटी संग्रहालयभित्र रेष्टुरेण्ट चलाउन खोजेका आनन्दराज बताससँग आफ्नो कुनै नाता नरहेको बताउनुभएको हो ।
अध्यक्ष ओलीले अहिलेको सरकारले आफ्नो भ्रष्टाचारका काण्ड थामथुम पार्न आफ्नो नक्कली ज्वाइँ खडा गरिएको आरोपसमेत लगाउनुभयो । राष्ट्रसेवक सहकारी संस्थाको कार्यक्रममा सरकारले नारायणहिटी कप्लक्कै खाइसकेको टिप्पणी गर्नुभयो । नारायणहिटी संग्रहालयमा क्याफे सञ्चालनसम्बन्धी ठेक्का पाएको बतास समूहलाई सरकारको संरक्षण रहेको भन्दै उहाँले अहिले आफ्नो भ्रष्टाचार छोप्न बतासलाई मिडियाबाट केपी ओलीको ज्वाइँ बनाउन खोजिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सञ्चारमाध्यममा बोलाएर अन्तरर्वार्ता दिन लगाएर म त केपी ओलीको ज्वाइँ हो भन्न लगाउनु ¤ मेरो त छोराछोरी देशभरि छन्, छोरीसँग बिहे गर्ने ज्वाइँ र छोरासँग बिहे गरे बुहारी त हुन्छ नि ।’ उहाँले अगाडि भन्नुभयो, ‘यस्तो कुरा लिएर आफ्नो भ्रष्टाचार छोप्न खोज्नु र मेरो ज्वाइँ भने नि किन दिनु त संग्रहालयभित्र रेष्टुरेण्ट बनाउन ठेक्का ?’
बतासले ससुराली झापा भएका कारण ओलीले आफूलाई ज्वाइँ भनेर सम्मान गर्ने गरेको मिडियालाई बताउनुभएको थियो । अहिले नारायणहिटी भित्र रेष्टुरेण्ट निर्माण सुरु भएपछि विवाद सिर्जना भएको छ ।
अध्यक्ष ओलीले नारायणहिटीभित्र संरचना निर्माण गर्दा जनता कराउन थालेपनि सरकारले हतार हतारमा भत्काउन खोजेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘१२० कोष निल्न सक्ने भगवान् हनुमानभन्दा पनि ठूलो १८० कोष भएका मुख बाउनेहरूले देखीदेखी नारायणहिटी निल्न खोज्यो । जनताले कराउन थालेपछि हतारहतार त्यो भत्काउन लगाइयो ।’
अध्यक्ष ओलीले अबको चुनावबाट म्यादी सरकार हटाएर जनताले एमालेलाई सत्तामा पु¥याउने पनि बताउनुभयो । एमालेले चुनाव पर्खिरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले जनादेशबाट परमादेश भएको यो सरकार ‘म्यादी सरकार’ हो भन्नुभयो । उहाँले भन्नुभयो ‘अब चुनावबाट स्वच्छ र विकसित सरकार एमालेले बनाउँछ र जनताले मतदान गरी सत्तामा पु¥याउँछ ।’ अध्यक्ष ओलीले चुनावमा निष्पक्ष रूपमा काम गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रहसमेत गर्नुभयो ।




















