वैदेशिक रोजगारीले नदिएको सन्तुष्टि देशमै बाख्रापालनको ब्यापारले दियो।

[ लेखनाथ पोखरेल ] 

काठमाडौं:= अधिकांश मानिस सुख र सम्पन्नता प्राप्तिका लागि भौंतारिरहेका हुन्छन् । जसका लागि कोही विदेशिन्छन् भने कोही स्वदेशमै केही गरेर देखाउने ध्याउन्नमा हुन्छन् । धेरैजसोको जसरी पनि कमाउने एकसूत्रीय उद्देश्य हुन्छ । केही चाहिँ भौतिक सुखभन्दा पनि आत्मसन्तुष्टिको खोजीमा हुन्छन् । तर, तालमेल नमिल्दा न भौतिक सुख प्राप्त हुन्छ, न त आत्मसन्तुष्टि नै । ऊर्जाशील जीवन त्यत्तिकै खेर जान्छ ।

अहिलेका अधिकांश ऊर्जाशील युवाको सपना हो, वैदेशिक रोजगारी । सक्नेहरूको गन्तव्य युरोप, अमेरिका, नसक्नेको खाडी या मलेसिया । आफ््नो देशमा कुनै अवसर नदेख्ने, विदेशमा अवसरै अवसर देख्ने नेपाली युवा जमात ठूलै छ । त्यसो त वैदेशिक रोजगारीको सकारात्मक पाटो पनि छ, त्यो हो सीप, प्रविधि, परिश्रम, समयको महत्व । त्यही भएर विदेश जानुअघि आफ्नो देशमा कुनै अवसर नदेख्ने युवाहरू विदेशबाट फर्किएपछि अवसरै अवसर देख्छन् ।

हाल स्वदेशमै कृषि क्षेत्रमा समर्पित युवा कृषि उद्यमी अशोक सुनुवारको विगत पनि त्यस्तै रहृयो । तीन वर्ष मलेसिया काम गरेर स्वदेश फर्किनुभएका सुनुवारले सात वर्षसम्म विभिन्न छापा मिडियामा काम गर्नुभयो । छापा मिडियामा पेज डिजाइनिङको काम गर्ने सुनुवारले न आकर्षक पारिश्रमिक पाउनुभयो, न त आत्मसन्तुष्टि नै । फुर्सद पनि छैन, काम पनि छैन भनेजस्तो !

दुुई वर्षअघि भिडभाड र उकुसमुकुसयुक्त काठमाडौंलाई ‘बाई बाई’ गर्दै सुन्दर, शान्त कर्मथलो दोलखाको जिरी फर्किएर उहाँले पाँच लाखको लगानीमा बाख्रापालन सुरु गर्नुभयो । त्यसो त मलेसियामा सुनुवारको काम बाख्रापालन थिएन, उहाँ रबर उद्योगमा काम गर्नुहुन्थ्यो, नेपालमा रबर उद्योग नभएकाले त्यो सीप यता काम लागेन । तर, किसानको छोरा भएकाले उहाँलाई बाख्रापालनमा समस्या भने भएन । बाख्राका साथै बंगुरपालन पनि सुरु गर्नुभएका उहाँले अहिले आलुखेतीमा पनि हात हाल्नुभएको छ ।

बाख्रा र बंगुरका लागि दानाको चिन्ता छैन, मकैको पिठो, धानको ढुटोलगायत स्थानीय दाना, घाँस र पर्याप्त चरन क्षेत्र रहेकाले समस्या नरहेको सुनुवार बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पाँचवटा माउ बाख्राबाट व्यवसाय सुरु गरेको हुँ, अहिले ४० वटा बाख्रा छन् । बढाएर तीन सय पुर्‍याउने तयारीमा छु । बजार समस्या छैन, खसीबोका, बंगुर र आलु स्थानीय बजारमै खपत हुन्छ । बढी भएको काठमाडौं पठाउने गरेको छु ।’

बिउ बाख्रा नुवाकोटबाट ल्याएर अफ्रिकन बोरबाट क्रस गरिएको र जमुनापारिका खसीबोका एक वर्षमै ४० केजीसम्म हुने गरेको उहाँले बताउनुभयो । आफूसँग भएको केही रकम र आफन्तबाट सरसापट लिएर व्यवसाय विस्तार गर्दै आएकाले बैंक तथा वित्तीय संस्थाबाट भने अहिलेसम्म ऋण नलिएको उहाँ बताउनुहुन्छ, अनुदान सहयोग पनि छैन ।

सुनुवार भन्नुहुन्छ, ‘ऋण त लिएको छु तर व्याज तिर्नुपर्दैन, बैंकबाट लिएको भए व्याज तिर्नुपथ्यो, आफन्तबाट लिएकाले व्याजको तनाव छैन । अनुदान पनि छैन, अनुदान पाए हुन्थ्यो, लौ न कसलाई भनसुन गर्नुपर्ने हो, मिलाइदिनुप¥यो ।’ हालसम्म बाख्राको बिमा नगराएको भए पनि छिट्टै बिमा पनि गराउने तयारी रहेको उहाँले बताउनुभयो ।

‘तालिम लिएर व्यवसायमा हात हाल्नुपर्नेमा त्यत्तिकै सुरु गर्दा पनि खासै समस्या आएको छैन,’ सुनुवार भन्नुहुन्छ, ‘तालिम लिएको छैन, काम गर्दै सिक्दै यहाँसम्म आइपुगेको छु । राम्रो हुँदै गएको छ, बाख्रापालनले आम्दानीका साथै सन्तुष्टि पनि मिलेको छ ।’