सहकारी पत्रकारमा काजी श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिती चयन।

काठमाडौं := नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को शुक्रबार राजधानीमा सम्पन्न ११औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । काजी श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा तुलसीराम सुवेदी, सचिवमा अर्जुन खतिवडा, सहसचिवमा भेषराज बेलवासे र कोषाध्यक्षमा रातोपाटी डटकमका पत्रकार प्रयास श्रेष्ठ रहेको संघले जनाएको छ ।  सदस्यहरूमा सुधा देवकोटा र सन्तोष रोकाया हुनुहुन्छ ।

सहकारीको व्याजदर नबढ्ने

सहकारी क्षेत्रमा सन्दर्भ व्याजदर वृद्धिको चर्चा चलिरहेकै बेला भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले व्याजदर नबढ्ने बताउनुभएको छ । सिजेएनको ११औँ वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले पछिल्ला दिनमा सहकारी संघसंस्था पैसा व्याजमा लगानी गरेर खाने बैंकजस्तो भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्ला दिनमा सहकारी उद्देश्यविहीन जस्तै भएका छन् । सहकारीको मर्म के हो ? उद्देश्य तथा लक्ष्य के हो ? सहकारीको बाटो एकातिर छ तर गन्तव्य अर्कैतिर भइरहेको छ । यसलाई रोक्न आवश्यक छ ।’

सहकारी संघसंस्था सदस्यको वृत्ति विकासभन्दा पनि नाफा कमाउनेतर्फ उद्दत रहेको भन्दै उहाँले व्याजदरमा कसेर सदस्य ठग्ने सहकारीको काम नभएको बताउनुभयो । हाल सहकारीको सन्दर्भ व्याजदर १४.७५ प्रतिशत रहेको छ । बजारमा तरलता अभावको संकट पर्न थाले पनि सहकारी अभियन्ताले कम्तीमा पनि सन्दर्भ व्याजदर दुई प्रतिशत वृद्धि गर्नुपर्ने माग गर्दै आएका छन् ।