नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पाँचजनाको नाम सिफारिस।

काठमाडौं:= नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को अन्तर्वार्ताका लागि पाँचजनाको नाम सिफारिस भएको छ । नेप्सेको सिइओ नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले आवेदन दिएका ११ जनामध्येबाट पाँचजनालाई अन्तर्वार्ताका लागि छनोट गरेको हो ।

प्राप्त हुन आएका दरखास्तसाथ उम्मेदवार/आवेदकको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणबाट प्राप्तांकको प्राथमिकताका आधारमा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरिएको समितिले जनाएको छ । समितिले कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रवीण पन्दाक, रमेश घिमिरे र डा. रमेश भण्डारीलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।

नेप्सेको सिइओका लागि निरञ्जन फुयाल, प्रवीण पन्दाक, डा. जीवन अम्गाई, डा. केशव श्रेष्ठ, डा रमेशकुमार भण्डारी, बद्रिप्रसाद प्याकुरेल, कृष्णबहादुर कार्की, दिपक गौतम, गोविन्दप्रसाद दाहाल, छविराज पन्त र रमेश घिमिरे गरी ११ जनाले आवेदन दिनुभएको थियो । सर्वोत्तम सेयर खरिद प्रकरणपछि नेप्सेका सिइओ चन्द्रसिंह साउदले राजीनामा दिएपछि नेप्सेको सिइओ पद रिक्त रहेको छ ।

सिइओका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी पुँजीबजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानुन वा व्यवस्थापन क्षेत्रमध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ भने ३० वर्ष पूरा भई ६० ननाघेको हुनुपर्नेछ ।