रुसी रकेट प्रक्षेपण असफल।

मस्को:= रुसी रकेट प्रक्षेपण असफल भई भग्नावशेष पृथ्वीमा खसेको छ । प्रक्षेपण असफल भएको रसियाको एक रकेटको भग्नावशेष बुधबार पृथ्वीमा खस्नेक्रममा प्रशान्त महासागरमा छरिएका हुन् । रुसी समाचार निकाय तासका अनुसार गत डिसेम्बरमा प्रक्षेपित रुसको आन्गारा-ए ५ रकेटको भाग खसेको हो ।

खगोलविद् जोनाथम म्याकडोवेलले उक्त रकेट हजारौं वर्षका लागि पृथ्वीको कक्षमा राख्ने उद्देश्यले प्रक्षेपण गरिएको अमेरिकी सञ्चारमाध्यम सिएनएनलाई बताउनुभएको छ । दुर्घटनाग्रस्त भई पृथ्वीतर्फ खसेको सो रकेटको भग्नावशेष अनियन्त्रित गतिमा प्रशान्त महासागरमाथिको वायुमण्डलमा पुनः प्रवेश गरेको थियो ।

पहिलोपटक गत २७ डिसेम्बरमा उत्तर पश्चिमी रसियाको प्लेसेत्सक अन्तरिक्ष वन्दरगाहबाट आन्गारा-ए ५ रकेटमा रकेटको माथिल्लो भाग पर्सेइ वुस्टरलाई प्रक्षेपण गरिएको थियो । अठारौं स्पेश कन्ट्रोल स्टेसनले रकेटको माथिल्लो भाग पृथ्वीमा खसेको पुष्टि गरिसकेको छ ।

युरोपेली अन्तरिक्ष निकायले पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्नेक्रममा सो रकेटको भाग साढे सात किलोमिटर प्रतिसेकेन्डको गतिमा झरेको इन्साइडरलाई बताएको छ । तर, भग्नावशेष यकिनरूपमा कहाँ खस्यो भन्ने स्पष्ट हुन सकेको छैन । पृथ्वीको सतहमा पुग्ने भग्नावशेषको सुक्खा पिण्ड चार टन बराबरको हुने बताइएको छ । यो रकेट रुसी रक्षा मन्त्रालयले प्रक्षेपण गरेको हो ।

यसरी नै दुर्घटना हुँदा गत मे महिनामा चीनको लंग मार्च ५ बि रकेटको साढे वाइस टन भग्नावशेष माल्दिभ्स नजिकको हिन्द महासागरमा खसेको थियो ।