काठमाडौं:= बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउनुभएको छ । ‘राता लम्बिया’, ‘भे माही’, ‘बन्देया रे बन्देया’ र ‘तेरे बिन’, ‘आख लड जावे’ लगायतका दर्जनौं लोकप्रिय गीतकी नायिका असीसले आज शनिबार साँझ दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टमा आफ्नो प्रस्तुति दिनुहुनेछ ।
नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगै नाच्ने चाहना पूरा गर्न कार्यक्रम आयोजना गरिएको आयोजक संस्था फेलिज इन्टरनेसनल इभेन्टका सिइओ शाहिल खानले बताउनुभयो । ‘विश्वमा नेपालमा कोरोना कहर नभएको सन्देश कार्यक्रमले दिनेछ’ खानले भन्नुभएको छ ‘कौरको ‘राता लम्बिया’ गीत अहिले व्यापक हिट भएको र बजारको माहोल हेरेर उहाँलाई ल्याउन लागेको हो ।’
कार्यक्रममा असीस कौरका अलावा नेपाली गायक यावेश थापाको समेत धमाकेदार प्रस्तुति रहनेछ । असीस कौरको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट छ । कौरले इन्डियन आइडल, आवाज पञ्जाब दीलगायतका विभिन्न गायन रियालिटी शोमा समेत भाग लिनुभएको थियो ।
पाँच वर्षको हुँदादेखि नै गायन क्षेत्रमा लाग्नुभएकी कौरले ‘तमाचे’ फिल्मको ‘दिलदारा रिप्राइज’ मार्फत् बलिउडमा डेब्यु गर्नुभएको थियो । त्यसयता उहाँले बलिउडका थुप्रै चलचित्रका गीतमा आफ्नो आवाज दिइसक्नुभएको छ ।




















