शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत संकटा र सातदोबाटोको खेल बराबर।

काठमाडौं:= शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शुक्रबारदेखि सुरुवात भएको आठौं चरणको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुगिंएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटा र सातदोबाटोले एक-एक गोल गरेका हुन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा एक-एक गोल गरेका थिए । सातदोबाटोका लागि सुशील राईले गोल गर्दा उता संकटाका लागि जया गुरुङले बराबरी गोल फर्काउनुभएको थियो । खेलको २३औं मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई १-० को अग्रता दिलाउनुभयो । निरज बस्नेतको व्याक पासमा गोलरक्षक राजाबाबु थापाले गल्ती गरेपछि राजाबाबुले क्लियर गरेको बल सुशीलको घुँडामा लाग्दै गोलमा परिणत भएको थियो ।

सातदोबाटोको १-० को अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ३२औं मिनेटमा संकटाका खेलाडी जयाले गोल गर्दै खेललाई एक-एकको बराबरीमा ल्याउनुभयो । दीपेश आलेमगरको पासलाई उहाँले करिब ३० यार्डबाट प्रहार गरेको बलले जाली चुमेको थियो ।

त्यसबाहेक दुवै टोलीका पटक-पटकका प्रयास असफल रहे । खेलको चौथो मिनेटमा सुदीप गुरुङको पेनाल्टी बक्सबाहिरको प्रहार संकटाका गोलक्षक राजा बाबु थापाले पञ्च गर्दै बचाउनुभयो । ११औं मिनेटमा फोडे फोफानाको प्रहार अभिषेक बरालले मुस्किलले बचाउनुभयो । १९औं मिनेटमा निरज बस्नेतको फ्रिकिक बारमा लाग्दै फर्कियो ।

३०औं मिनेटमा सुदीप गुरुङको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार क्रस बारमा लाग्दै बाहिरिँदा सातदोबाटो अग्रता दोब्बर पार्नबाट चुक्यो । यस्तै ३९औं मिनेटमा दीपकराज सिंह ठकुरीको प्रहारलाई गोलरक्षक राजाबाबुले बचाउनुभएको थियो । ५२औं मिनेटमा दीपकराज सिंहको वान भर्सेस वानको प्रहार दोस्रो बार च्याप्दै बाहिरिँदा सातदोबाटो अग्रता दोब्बर पार्नबाट चुक्यो । ७७औं मिनेटमा मार्टिन एडेल्फे सिलो नंगाको फ्रि हेडर पोष्ट नजिकैबाट आकासिदा सातदोबाटो अग्रता लिनबाट चुक्यो।

दोस्रो हाफमा संकटाले भने खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि खेल एक-एक गोलको बराबरीमा टुंगिएको हो । यस बराबरी खेलसँगै अपराजित रहेको संकटा आठ खेलबाट १४ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा पुगेको छ भने समान खेल खेलेको सातदोबाटो नौ अंक जोडेर अंक तालिकाको आठौं स्थानमा पुगेको छ ।